नयाँ ‘पदयात्रा पर्यटन’ बन्दै कफुचे हिमताल

हिमाल प्रेस २४ असार २०८० १६:२०
10
SHARES
नयाँ ‘पदयात्रा पर्यटन’ बन्दै कफुचे हिमताल

कास्की– मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने तयारी थालिएको छ। बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र संघ तीनवटै सरकारले प्राथमिकताका साथ कफुचेलाई पदमार्गले जोड्ने पहल अगाडि बढाएका हुन्।

समुद्री सतहबाट २४५० मिटर उचाइमा रहेको कफुचे ताल घुम्न आउने पर्यटकको संख्या दिनहुँ बढ्दो छ। यही कारण स्थानीय तहले यसको प्रबद्र्धन र विकासलाई प्राथमिकतामा राखेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङग गुरुङले जानकारी गराए।

‘कफुचे हिमताल मादी गाउँपालिकाको मात्र नभइ देशकै गौरव हो, यसको प्रबद्र्धन र विकास गर्दा सबैलाई फाइदा पुग्छ,’ उनले भने, ‘त्यही कारण पोखरा, सिक्लेस, ताङतिङ हुँदै मनाङ जोड्ने पदमार्गलाई महत्त्वका साथ अघि बढाउने तीन तहकै सरकारबीच सहकार्य भएको छ।’

गण्डकी प्रदेश सरकारले आगामी आवका लागि मादी गाउँपालिका–७ को थाकबाट ताराहिल टप हुँदै कफुचेसम्मको पदमार्गका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ।

प्रदेशबाटै सिक्लेस कफुचे पदमार्गका लागि थप ५ लाख पनि छुट्याइएको छ। मादी गाउँपालिकाले अघिल्लो वर्षदेखि नै सिक्लेसबाट कफुचेसम्मका लागि ५० प्रतिशत अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको थियो। यसको कार्यविधि पनि तयार भइसकेको र आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ।

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको यो ताल लगभग १ हजार २०० वर्गमिटरमा फैलिएको छ। नेपालकै ठूलो गुरुङ गाउँको रूपमा चिनिएको सिक्लेसबाट एकदिनको पदयात्रा गरी कफुचे पुग्न सकिन्छ।

पछिल्ला समयमा जथाभावी बाटो खन्ने क्रमसँगै पदमार्ग हराउँदै गएका अवस्थामा सिक्लेस—कफुचेलाई नयाँ पदमार्गका रूपमा विकास गर्न सकिने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले बताए।

त्यस क्षेत्रमा सन् २००७÷८ तिर सिक्लेस हुँदै नामुन पास भएर तिमाङ पदमार्गको टानले प्रवद्र्धन गरेको बताउँदै अध्यक्ष पन्थीले मादी गाउँपालिकाको याङजाकोटबाट दूधपोखरी हँुदै क्होलासोँथर निस्कने पदमार्गको प्रवद्र्धनलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।

‘कफुचेलाई पदयात्रा पर्यटनसँग जोड्न सकेमा यहाँ ठूलो संख्यामा स्वदेशी एवम् विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ,’ उनले भने, ‘त्यसको लागि पदमार्ग क्षेत्रको प्रबद्र्धन, विकाससँगै पर्यटक लक्षित पूर्वाधार विकासमा सबै मिलेर अघि जानुपर्छ।’
रासस

प्रकाशित: २४ असार २०८० १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast