फ्रान्स दंगा

आमालाई चुम्बन गर्दै ‘आइ लभ यु मम’ भनेर काममा निस्किएका थिए नाहेल

हिमाल प्रेस १६ असार २०८० २०:२१
20
SHARES
आमालाई चुम्बन गर्दै ‘आइ लभ यु मम’ भनेर काममा निस्किएका थिए नाहेल स्रोत : एएफपी

काठमाडौँ- फ्रान्सको राजधानी पेरिस नजिकै नान्टेरेमा एक किशोरको गोली लागि मृत्यु भएपछि अहिले फ्रान्सभर दंगा बढेको छ। आन्दाेलनकारीले प्रहरीमाथि आक्रमण सुरु गरेका छन्। चार दिनदेखि व्यापक प्रदर्शन भइरहेकाे छ।

पेरिस नजिकै सडकमा ट्राफिक जाँचको क्रममा मंगलबार एक सत्र वर्षीय किशोर नाहेल एममाथि एकजना प्रहरी अधिकारीले गोली प्रहार गरेका थिए। ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उनी रोकिएका बेला गाेली हानिएकाे थियाे।

गोली प्रहार गरेको भिडियाे सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि घटनाले उग्र रूप लिएको हो। घटनामा संलग्न अधिकारीले पीडितको परिवारसँग माफी मागे पनि प्रदर्शन साम्य हुन सकेको छैन।

स्रोत : एएफपी

गाडीबाट निस्किँदै गर्दा निकै नजिकबाट निशाना बनाई गोली हानिएको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ। उक्त घटनालाई लिएर तनाव बढेपछि प्रदर्शनकारीले ठाउँठाउँमा आगो बालेर आवतजावतमा अवरोध गर्दै प्रहरीलाई निशाना बनाएका छन्।

सीएनएनका अनुसार हिंसाको चौथो दिन पनि सरकारले शान्ति सुव्यवस्था कायम गर्न पहल गरिरहेको छ। अहिलेसम्म प्रहरीले करिब एक हजार जनालाई पक्राउ गरेको छ भने विभिन्न सडकहरूमा ४ हजार ५ सय प्रहरी तैनाथ गरिएका छन्। तर पनि प्रदर्शन रोकिएकाे छैन। यद्यपि मृतक नाहेलको अन्त्येष्टि शनिबार गरिएको छ।

फ्रान्सको गृह मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ९ सय ९४ जनालाई हिरासतमा लिइएको छ। सार्वजनिक सडकमा दुई हजार ५ सय ६० स्थानमा आगजनी गरिएको, एक हजार ३ सय ५० कार जलेको र २ सय ३४ वटा भवनमा क्षति तथा आगलागीका घटना भएको बताइएको छ।

शुक्रबार रातिसम्म ७९ जना प्रहरी घाइते भएका छन् भने ५८ प्रहरी स्टेसनमा आक्रमण भएका छन्। बिएफएमटिभीका अनुसार मार्सिलेको पुरानो बन्दरगाहमा शुक्रबार साँझ विस्फोट भएको थियो तर कुनै मानवीय क्षति भने भएको थिएन।

रग्वी लिगका खेलाडी समेत रहेका मृतक अल्जेरिअन मूलका हुन्। उनी एकल आमाले हुर्काएको एक्लो सन्तान हुन्। बीबीसीका अनुसार उनी खाना पुर्‍याने काम गर्थे। त्यसका लागि गाडि चलाउँथे। ‘टेक अवे’ खानाका लागि उनी गाडी चलाउने गर्थे।

उनलाई नजिकबाट निशाना बनाएर गोली हान्नुले फ्रान्सेली उपनगरहरूमा प्रहरीले जातीय समुदायलाई लक्षित गरी गर्ने आक्रमणबारेका गुनासोलाई पुनर्जीवित गरेको भन्दै दंगा भड्किएको छ। यो थप उग्र बन्नसक्ने शनिबारको घटनाले पनि देखाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूको निष्कर्ष छ।

यसै विषयमा आक्रोशित मानिसहरूका कारण देशभर हिंसा फैलिएको छ। युुवककी आमा मोनिया आफैँ पनि विरोधको र्‍यालीमा निश्केकी थिइन्। बिहीबार दिउँसो ती युवककी आमाको नेतृत्वमा निस्किएको र्‍यालीमा पनि झडप भएको थियो। उनी अझै पनि र्‍यालीमै छन्।

प्रहरीले उनको कुनै आपराधिक घटनामा संलग्नता नदेखिएको बताएकाे छ। उनले घटना भएको दिन काममा निस्कनुअघि आमालाई चुम्बन दिँदै भनेका थिए, ‘आई लभ यू मम’ अर्थात आमा म तिमीलाई माया गर्छु।

नियन्त्रणबाहिर दंगा

दंगा नियन्त्रणका लागि हजारौँ प्रहरी तैनाथ गरिए भए पनि नियन्त्रणका लागि सार्थक हुन सकेको छैन। सरकारले क्षेत्रीय अधिकारीहरूलाई रातभर सार्वजनिक सवारी सेवाहरू बन्द गर्न लगाएको छ। अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई प्रदर्शनहरूबाट जोगाउन समेत सार्वजनिक अपिल फ्रान्स सरकारले गरेको छ।

फ्रान्सका आन्तरिक मामिला मन्त्री डार्मानिनले दंगा लगातार भइरहँदा मुलुकमा आर्थिक तथा अन्य गतिविधिमा समेत असर परेको बताएका छन्। प्रदर्शनकारीहरू गिरफ्तार गरिए पनि नियन्त्रणमा आउन सकेकाे छैन।

स्रोत : एएफपी

सरकारदले आन्दोलनमा सहभागी १३ वर्षसम्म उमेर भएकालाई पनि गिरफ्तार गरेको छ। दंगा रोक्न राष्ट्रपति एमानुएल म्याक्रोनदेखि फुटबलर स्टारहरूलेसमेत आग्रह गरेका छन्।

उनीहरूले हिंसाबाट समस्याको समाधान नहुने र यसले अन्यलाई फाइदा हुने भन्दै त्यसमा नलाग्न आग्रह गरिरहेका छन्। फ्रान्सेली फुटबल स्टार किलियान एम्बाप्पेले पनि हिंसाले कुनै पनि समस्या समाधान नगर्ने बताएका छन्। उनले यस स्थितिलाई संवाद र पुनर्स्थापनाूको बाटोबाट समाधान गर्नुपर्ने बताएका छन्।

राष्ट्रपतिले आपत्कालीन अवस्था घोषणा नगरे पनि अभिभावकलाई आफ्नो सन्तान घरमै राख्न आग्रह गरेका छन्। सामाजिक सञ्जालले पनि कतिपय दंगाको सामग्री हटाएर सहयोग गर्न अपिल गरेका छन्। विभिन्न ठाउँमा प्रदर्शनकारी र दंगा नियन्त्रणमा खटेका प्रहरीबीच झडप भएपछि कतिपय स्थानमा अहिले कर्फ्यु लगाइएको छ।

प्रकाशित: १६ असार २०८० २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast