सर्वदलीय बैठकमा प्रचण्डको आह्वान : राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिन हुन्न, हाम्रो पहिलो दायित्व ज्यान बचाउनु हो

हिमाल प्रेस ११ भदौ २०८३ ११:०६ | Thursday, August 27, 2026
सर्वदलीय बैठकमा प्रचण्डको आह्वान : राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिन हुन्न, हाम्रो पहिलो दायित्व ज्यान बचाउनु हो

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय संकटको सामना गर्न एकजुट हुन आह्वान गरेका छन्। उनले आज रवि लामिछानेको अगुवाइमा बोलाइएको सर्वदलीय बैठकमा बोल्दै  अहिले देश गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको र यस्तो अवस्थामा लामो बहस वा राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिन नहुने बताएका छन्।

उनले यो सामान्य प्राकृतिक विपत्ति मात्र नभई नेपालको भौगोलिक जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम र बदलिँदो प्राकृतिक अवस्थासँग जोडिएका गम्भीर संकेतहरू भएको बताएका छन्।  प्रचण्डले तत्कालीन खोजी, उद्धार र राहतसँगै यस्ता विपत्तिको दीर्घकालीन जोखिम न्यूनीकरण र रोकथामका लागि वैज्ञानिक, प्राविधिक र नीतिगत अध्ययन गरी राष्ट्रिय रणनीति बनाउन सरकारसमक्ष अनुरोध गरे।

‘अहिले हाम्रो पहिलो दायित्व भनेको मानिसको जीवन बचाउनु हो। खोज, उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि सरकार, राजनीतिक दल तथा सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वयका साथ साझा कार्ययोजना बनाएर अघि बढ्नुपर्छ।’ उनले भने,’ यसका लागि सम्बन्धित छिमेकी मुलुकसँग तत्काल समन्वय गरी उपलब्ध सूचना तथा पूर्वसूचना संयन्त्रलाई प्रभावकारी रूपमा सक्रिय बनाउनुपर्छ। विशेषगरी हिमाली क्षेत्रमा यस्ता विपत्तिको जोखिम र पूर्वसूचना प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउन नेपालले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्छ।’

उनले कोशी बाढी, सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको भूकम्प र जाजरकोट भूकम्पलगायतका विपत्तिमा नेपाली समाज र राजनीतिक शक्तिहरूले संकटका बेला एकताबद्ध भएर सामना गरेको इतिहास सुनाए।  ‘आज पनि देशमा राजनीतिक मतभेद र विमति छन्। लोकतन्त्रमा ती स्वाभाविक हुन्। तर विपत्तिका बेला ती मतभेदलाई केही समय थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिनुपर्छ।’ उनले भने,’ रसुवाको भोटेकोशी बाढीले सिर्जना गरेको यो गम्भीर संकटबाट पार पाउन सरकारलाई हाम्रो पार्टीको पूर्ण साथ र सहयोग रहनेछ। हाम्रो पार्टीले हिजै बैठक बसेर यस विषयमा आवश्यक निर्णय गरिसकेको छ र पार्टीको पंक्तिलाई उद्धार, राहत तथा सहयोगका काममा सरकारी निकाय संग समन्वय गरेर परिचालित हुन निर्देशन दिइसकेको छ।’

प्रकाशित: ११ भदौ २०८३ ११:०६ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast