ऐतिहासिक सम्पदा संरक्षणमा जुटे म्याग्दीका स्थानीय तह

हिमाल प्रेस ७ असार २०८० १३:२२ | Thursday, June 22, 2023
ऐतिहासिक सम्पदा संरक्षणमा जुटे म्याग्दीका स्थानीय तह

म्याग्दी– म्याग्दीमा रहेका ३ सयवर्ष भन्दा पुराना देवल, ऐतिहासिकस्थल र प्राचीन सम्पदाको संरक्षण गर्न थालिएको छ।

यहाँका स्थानीय तहले धार्मिक तथा ऐतिहासिक महत्त्वका देवल, ऐतिहासिकस्थल र प्राचीन सम्पदाको मर्मतसम्हार गरेर संरक्षण गर्न थालेका हुन्।

सदरमुकाम बेनीलगायत जिल्लाका छ वटै स्थानीय तहमा रहेका पुरातात्त्विक तथा शिखरशैलीका देवल र प्राचीन सम्पदा प्रचारप्रसार र संरक्षणको अभावमा नासिँदै जान थालेपछि स्थानीय तहले मर्मत गरी संरक्षण गर्न थालेका हुन्।

लोप हुने अवस्थामा पुगेका र ओझेलमा परेका त्यस्ता सम्पदाको संरक्षण र पुनःनिर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन्।

जिल्लाका ताकमकोत, ज्यामरुककोट, घतान, पुलाचौर, राखु भगवतीलगायत स्थानमा रहेका कैयौँ प्राचीन देवल र सम्पदाको संरक्षण र प्रचारप्रसारमा स्थानीय निकायले काम गर्न थालेपछि स्थानीय खुसी भएका छन्।

‘बेनीबजारमा रहेका कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवल ३ सय वर्ष पुराना ऐतिहासिक विरासतका धरोहर हुन्,’ स्थानीय नैनकुमार श्रेष्ठले भने।

पुराना प्राचीन सम्पदाको बारेमा नयाँ पुस्ता अनभिज्ञ रहेकाले यीनको संरक्षण गरी नयाँ पुस्तालाई जानकारी दिनुपर्ने उनको भनाइ छ।

ऐतिहासिक धरोधरको संरक्षण र प्रचारप्रसारमा नगरपालिका र वडा कार्यालय सक्रिय रहेको बेनी नगरपालिका-७ का वडाअध्यक्ष रमेश श्रेष्ठको भनाइ छ।

उनका अनुसार १७५४ सालमा तत्कालीन पर्वते राजा बलेबम मल्लले निर्माण गर्न लगाएका यी देवल पाञ्चायन शैलीमा निर्माण गरिएका छन्।

पुराना इँटाबाट निर्मित यी मन्दिरमा शिवलिंग, नारायण, गणेश र भगवतीका मूर्ति छन्।

‘बेनी बजारको सबैभन्दा पुरानो मानिएको बालमुक्तेश्वर मन्दिरको अस्तित्व नामेट हुँदै जान थालेको थियो। नगरपालिकाले प्राचीन सम्पदाको सूचीमा राखेपछि बल्ल यसको संरक्षण हुने भएको छ,’ स्थानीय अविरकुमार श्रेष्ठले भने।

बजार विस्तार हुने क्रम बढेसँगै आधुनिक र ठूला घर निर्माण हुँदा बालमुक्तेश्वर मन्दिर छोपिएको उनको भनाइ छ।

‘यहाँको पुरानो सभ्यता बोकेको मन्दिरबारे अहिले धेरैजसो अनभिज्ञ छन्,’ श्रेष्ठले भने, ‘०३७ सालमा बालमुक्तेश्वर मन्दिरको अगाडि लक्ष्मीनारायण मन्दिर निर्माण गरिएपछि सो मन्दिरको महत्त्व पनि छोपिँदै गएको छ।’

उनका अनुसार ०३४/३५ सालसम्म मन्दिरमा रहेको ताम्रपत्र अहिले हराएको छ।

अन्नपूर्ण गाउँपालिका-६ मा कालीगण्डकी नदी र घारखोलाको दोभानमा रहेको जलेश्वर शिवालय मन्दिरको पनि मर्मत गरी संरक्षण गर्न थालिएको छ। पाञ्चायन शैलीमा निर्माण गरिएको उक्त मन्दिर २०६३/६४ सालमा बेनी-जोमसोम सडक निर्माणका क्रममा सेनाले सोही मन्दिरसँग जोडेर दुर्गा भगवतीको मन्दिर निर्माण गरिदिएपछि जलेश्वर शिवालय अस्तित्वविहीन बनेको थियो।

‘प्राचीन मन्दिरमा राखिएका ताम्रपत्र, घण्ट, भाला, हातहतियारलगायत ऐतिहासिक र पुरातात्त्विक महत्त्वका चिज हराउँदै गएका थिए, अहिले वडा कार्यालयले पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षणका लागि चासो दिन थालेपछि आशा जगाएको छ’ ज्यामरुककोटका हरि शर्माले भने।

पुरातात्त्विक महत्त्व बोकेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा पुरातात्त्विक विभागले पनि ध्यान दिनुपर्ने बेनी नगरपालिका-२ का ७८ वर्षीय डिल कार्कीको भनाइ छ। उनका अनुसार दसैं, चैतेदसैं, कृष्णजन्माष्टमी, श्रीपञ्चमी र तीजका बेला उक्त ठाउँमा पूजापाठका साथै मेला लाग्ने गर्दछ।

ऐतिहासिक महत्त्व बोकेका स्थानमा रहेका ढुंगेधारा र कुवाको संरक्षण गर्न वडा कार्यालयबाट बजेट विनियोजन गरेर पहल थालिएको बेनी नगरपालिका-२ का वडाअध्यक्ष याम कार्कीले जानकारी दिए।

पुरातात्त्विक सम्पदालाई सूचीकरण गरी संरक्षण र संवर्द्धनका लागि पहल सुरु गरिएको उनको भनाइ छ।

प्रकाशित: ७ असार २०८० १३:२२ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast