शिक्षा मन्त्रालय र विद्यालय कर्मचारीबीच वार्ता सकारात्मक, सोमबार पनि बस्ने

हिमाल प्रेस ३ असार २०८० १७:५२ | Sunday, June 18, 2023
शिक्षा मन्त्रालय र विद्यालय कर्मचारीबीच वार्ता सकारात्मक, सोमबार पनि बस्ने शिक्षा मन्त्रालय

काठमाडौँ-  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालयका कर्मचारीबीचको वार्ता सकारात्मक भएको छ। मन्त्रालयमा आइतबार भएको वार्तामा विद्यालयका कर्मचारीको समस्या समाधान गर्ने विषयमा सरकारको वार्ता टोली र परिषद्का पदाधिकारीबीच छलफल भएको हो।

शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको अध्यक्षतामा ४ सदस्यीय वार्ता टोली गठन गरेको गरेको थियो। वार्ता टोलीमा अर्थ, शिक्षा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सदस्य छन्।

अध्यक्ष पौडेलले आइतबारको वार्ता सकारात्मक भएको र सोमबार पनि थप छलफल गरेर प्रतिवेदन तयार गर्ने बताए। उनले भने, ‘आजको वार्ता सकारात्मक भएको छ। विद्यालयका कर्मचारीको माग सम्बोधन गर्ने विषयमा प्रतिवेदन तयार गरेर बुझाउँछौँ।’

सरकारले वार्तामा बोलाएपछि विद्यालय कर्मचारीले अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रम स्थगित गरेका छन्। परिषद्ले आन्दोलनका कार्यक्रम स्थगित गरेर सरकारसँग वार्तामा बस्ने निर्णय गरेको थियो।

सरकारले वार्तामा आउन गरेको आग्रह र भावनालाई सम्मान गर्दै विगतमा भएको सहमति र सर्वोच्च अदालतको आदेशको पालना गराउने गरी वार्ता मार्फत समाधान खोज्ने प्रयास गरिएको परिषद्ले जनाएको छ।

विद्यालयका कर्मचारीले आइतबार मुलुकभरका सामुदायिक विद्यालय बन्दको कार्यक्रम घोषणा गरेका थिए। काठमाडौँ महानगरपालिकाले भने विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको थियो।

विद्यालयका कर्मचारीले उचित पारिश्रमिक पाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। सरकारले नीति तथा कार्यक्रममा उनीहरूका माग सम्बोधन गर्ने भनेपनि आर्थिक वर्ष २०८०/८१ को बजेटमा भने विद्यालय कर्मचारीको विषय समावेश गरिएको थिएन।

प्रकाशित: ३ असार २०८० १७:५२ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast