ताप्लेजुङ– ताप्लेजुङको सिदिंवा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता छन्। स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्ज्वल बेपत्ता छन्।
यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन्। खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ।
घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिंवा गाउँपालिका उपमेयर बन्दना कडरियाले जानकारी दिए।
मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ। यस्तै देउकुमार लिंदेन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकी भवन पहिराले बगाएको छ।
अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजंघा र सिदिंवा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन्।
बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आंखोपसहितका ठाउँमा विद्युतसमेत ठप्प छ।
मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन्। थप क्षतिसहित यकिन विवरण आउन बाँकी छ।
दोभान बजार जोखिममा
अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिंवा गाउँपालिकास्थित आंखोपमा ३ घर बगाएको छ। गए राति इंवाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए।
उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन्। वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन।
बाढीले इंवाखोला जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ। खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ। यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ। बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलको भनाइ छ।
उनका अनुसार दीपक धिताल र सुक लिम्बूको घर उच्च जोखिममा छन्।
बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन। मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन्। बाढीले मेरिंदेन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ।
मैवाखोला-२ र ५ वडा जोड्ने खार्तेखोलाको झोलुंगे पुल बगाएको स्थानीयले बताए। रातभर अत्यधिक वर्षासँगै ठाउँ-ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ।
जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो। बिहीबार रातिमात्र सिरीजंघा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो। यहाँका ५ वटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन्।
यसैबीच मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।

                                             
                                             
                                             
                                             
                                             

