बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वीरुकुम र रोल्पाको सीमाना पातीहाल्ने गुमनाम थियो। यहाँ ३ जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएका थिए।
स्थानीय तहको स्थापनापछि निसीखोला गाउँपालिकाले ०७५ सालमा रिगतालको पहचिान गरी प्रचारप्रचार र पूर्वाधार निर्माण गरेको थियो। पातीहाल्ने क्षेत्र र रिग ताल प्रचारप्रसारपछि पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गए।
सोही वर्ष पूर्वीरुकुमको भूमे गाउँपालिकाले बागलुङको भू-भागमा आएर प्रवेशद्वार निर्माण गरेपछि विवाद उठ्यो।
५ वर्षअगाडि सुरु भएको विवाद अहिलेसम्म सुल्झिन सकेको छैन। सीमा विवाद नसुल्झिँदा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको काम ठप्प भएको छ। सरोकारवालाले विवाद मिलाउन कोसिस गरे पनि अहिलेसम्म कुनै पनि निचोड निक्लिएको छैन।
पातीहाल्ने २ जिल्ला मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशकै सीमा क्षेत्र पनि हो। दुवै जिल्लाका सरोकारवालाबीच पटक-पटक सहमति जुटाउने प्रयास विगतमा भए तर त्यसले कुनै सहमति नजुटेपछि विवाद कायमै रहेको हो।
२ वर्षअघि सीमा विवाद टुंग्याउन कार्यदलसमेत बनेको थियो। कार्यदलसमेत विवाद टुंयाउन सकेन।
दुवै जिल्लाका जनप्रतिनिधिले विवाद नसुल्झिएसम्म यस क्षेत्रमा विकास निर्माणका काम नगर्ने सहमति भए पनि भूमे गाउँपालिकाले बागलुङको भूभागतिर ल्याउने गरि सडक निर्माण गरिरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्य घर्तीमगरको भनाइ छ।
विवाद टुंगाएर काम गर्ने गरी निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा ५ लाख विनियोजन गरेको उनको भनाइ छ। सहमतिविपरीत भूमे गाउँपालिकाले विवाद नटुंग्याइ काम गरिरहेको उनले बताए।
‘पहिले सीमाबारे कुनै विवाद थिएन। जब निसीखोला गाउँपालिकाले रिग तालको विकास गर्न थाल्यो, पातीहाल्नेदेखि तालसम्म जोड्ने सडक बनायो, पर्यटक पनि आउन थाले त्यसपछि भूमे गाउँपालिकाले हाम्रो भने र दाबी गर्न थाल्यो,’ उनले भने, ‘यो भू-भाग बागलुङकै हो, यहाँ वर्षौंदेखि बागलुङै मान्छेले उपयोग गर्दै छन्। विवाद नरोकिएसम्म यस क्षेत्रमा कुनै पनि पालिकाले विकास निर्माणका काम नगर्ने भन्ने सहमति गर्यौं। तर उनहरूले अहिले काम गरी राख्नुभएको छ।’
मध्यपहाडी लोकमार्गले २ जिल्ला नजोडिँदा यस क्षेत्रमा निसीखोलाका स्थानीयले चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएको निसीखोला गाउँपालिका-६ का स्थानीय पान विकको भनाइ छ। रिगतालमा पछिल्लो समय सयौं पयर्कट आउन थालेपछि रुकुमले आफ्नो दाबी गरेको उनले बताए।
‘पहिला यो ठाउँ सुनसान थियो, गोठालाबाहेक अरू कोही आउँदैनथे, बाह्रै महिना चिसो हुन्छ, अहिले पातीहाल्नेमा घर बनेर व्यापार पनि सुरु भएको छ। दिनदिनै गुम्न आउनेको भिड हुन्छ, वर्षौंदेखि हामीहरूले प्रयोग गर्दै आएको ठाउँलाई कसरी उनीहरूको भनेर स्वीकार गर्ने ? यो विवाद राज्यले मिलाउनुपर्छ,’ उनले भने।