बागलुङको रामतोला गाउँ जोड्ने सडक पहिलो पटक कालोपत्रे

हिमाल प्रेस २७ वैशाख २०८३ ६:२१ | Sunday, May 10, 2026
14
SHARES
बागलुङको रामतोला गाउँ जोड्ने सडक पहिलो पटक कालोपत्रे

बागलुङ- विकासका हिसाबले ओझेलमा परेको रामतोला गाउँ जोड्ने सडक कालोपत्रे गरिएको छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने रामतोला गाउँ जोड्ने सडक पहिलो पटक कालोपत्रे गरिएको हो ।

भौगोलिक विकटताका कारण पछाडि परेको यस गाउँलाई जोड्न २०७२ सालमा मार्ग खुलेको थियो । मार्ग खुलेको ११ वर्षपछि अहिले कालोपत्रे गरिएको हो । सडकको बागलुङ नगरपालिका–१० भकुण्डे डोटेतालदेखि रामतोलासम्म करिब पाँच किलोमिटर पर्छ । यस वर्ष स्तरोन्नतिसहित एक किलोमिटर कालोपत्रे गरेर सुरुआत भएको बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए । पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठ्यारो रहेको स्थानबाट कालोपत्रे गरिएको उनको भनाइ छ ।

अध्यक्ष गौतमले भने, ‘जिल्ला सदरमुकामै पर्ने भए पनि रायडाँडा, रामतोला गाउँ विगतदेखि नै ओझेलमा पर्दै आएका थिए, यस वर्ष सङ्घीय सरकारको लगानीमा रामतोला गाउँ जोड्ने सडकको थालनी गरेका छौँ, अब हरेक वर्ष निरन्तर काम गर्दै गएर गाउँसम्मै कालोपत्रे सडक पुग्ने छ ।’

सङ्घीय सरकारले विनियोजन गरेको रु दुई करोड ९५ लाखमा उक्त सडक कालोपत्रे भएको हो । सडक डिभिजन कार्यालयमार्फत कालोपत्रेको काम भएको हो । विसं २०८२ वैशाखमा हिलसाइडरपीके जेभीले आगामी जेठ २५ गते सक्ने गरी जिम्मा पाएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर विष्णु लामिछानेले जानकारी दिए ।

एक किलोमिटर सडक फराकिलो बनाउने, नाली निर्माण, ग्याविन लगाउनेदेखि कालोपत्रे गर्नेसम्मको काम गरेको उनको भनाइ छ । ट्रयाक खुलेदेखि अहिलेसम्म स्तरोन्नति नहुँदा कम दूरीको सडक कालोपत्रे गर्न ठुलो लागत लागेको इन्जिनियर लामिछाने बताउँछन् ।

प्रकाशित: २७ वैशाख २०८३ ६:२१ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast