पोखरा– पोखराका पूर्व बैंकर रेशम बहादुर थापाको दुर्घटनामा परी निधन भएको छ।
बिहीबार बेगनास–भोर्लेटार सडकखण्डको पचभैयामा कार दुर्घटनामा परी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उक्त सडकखण्ड हुँदै पोखरा आउने क्रममा उनले चलाएको बा १३ च ४२०९ नम्बरको कार बिहीबार बेलुका ६ बजेर २५ मिनेटमा पचैयामा दुर्घटनामा भएको हो।
दुर्घटनामा घाइते थापालाई तत्काल मोहरियास्थित प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल लगिएकोमा चिकित्सकले ७ बजेर १५ मिनेटमा मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले दिए।
दुर्घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको उनले बताए। डीएसपी पासवानका अनुसार कारमा अरु सवार नरहेको प्रारम्भिक जानकारी छ। कार सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।
थापा पोखराको गण्डकी विकास बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्। उनी विभिन्न संघसंस्थामा आबद्ध थिए।
उनका दुई भाइ छोरामध्ये जेठा छोराको पनि यसअघि काठमाडौंमा दुर्घटनामै परी ज्यान गएको थियो। पोखरा ३१ का वासिन्दा उनी पछिल्लो समय पोखराको गैह्रापाटन बस्दै आएका थिए।




