घर भाडामा छुट दिन पोखराका व्यवसायीको माग

हिमाल प्रेस ३१ जेठ २०८० १०:२६ | Wednesday, June 14, 2023
घर भाडामा छुट दिन पोखराका व्यवसायीको माग लेकसाइड।

पोखरा– आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घर भाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ। पोखरास्थित नेपाल राष्ट्रिय घर भाडा सरोकार समितिले घर भाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने माग गरेको हो।

समितिद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कमल न्यौपानेले घरबहाल कर पनि घरधनी आफैँले तिर्न आग्रह गर्नुभयो। समितिले सम्झौताअनुरुप भाडा वृद्धिको समय आएको भए पनि त्यसलाई पछाडि सार्न माग गरेको छ।

‘घर भाडा बेलैमा तिर्न नसकेका कारण व्यवसायीहरू विस्थापित हुनुपरिरहेको छ,’ समितिका अध्यक्ष न्यौपानेले भने, ‘संकटको अवस्थामा घरधनीले व्यवसायीको मर्का बुझिदिनुस् भन्ने हाम्रो माग हो।’

कोभिड-१९ ले थलिएको व्यवसाय क्षेत्र पछिल्लो आर्थिक संकटका कारण झन्झ्न मारमा परेको उनले बताए। आर्थिक मन्दीका कारण १५ देखि २० प्रतिशतसम्म व्यवसायी पलायन भएको अनुमान समितिको छ।

अधिकांशले भाडा तिर्न नसकेर व्यवसायबाट हात धुनुपरेको बताउने गरेको समितिका प्रथम उपाध्यक्ष उमापति ढकालले बताए। उनले व्यवसायीहरू विषम परिस्थितिबाट गुज्रिरहेकाले घर भाडा वृद्धि नगर्न र बढेको भाडादर मिनाहा गरिदिन माग गरिएको बताए।

समयमा घर भाडा नतिर्ने व्यवसायीलाई घर खाली गर्न बाध्य नपार्नसमेत समितिले अनुरोध गरेको छ। ‘यस्तो बेला घरधनीले राहतको प्याकेज ल्याउन जरुरी छ, आखिर व्यवसायी र घरधनी भनेको एकअर्काका सहयोगी पनि त हुन्,’ उनले भने।

प्रकाशित: ३१ जेठ २०८० १०:२६ | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast