काठमाडौँ- नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ। निर्वाचन आयोगले शुक्रबार बोलाएको सर्वदलीय बैठकमा निर्वाचन कार्यालय खारेज गर्न नहुने धारणा राखेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताए।
‘निर्वाचन भन्ने बित्तिकै चाहे जुनसुकै राजनीतिक दल सरकारमा रहे पनि निर्वाचन स्वतन्त्र, निष्पक्ष, तटस्थ र निर्वाचन आयोग स्वायत्त हुनुपर्छ, यो लोकतन्त्रको मान्यता हो,’ उनले भने, ‘अर्थमन्त्रीज्यूले जुन बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय मर्ज गर्ने कुरा ल्याउनुभएको थियो, त्यसलाई मर्ज गरिनु हुँदैन भन्ने मैले पार्टीको आधिकारिक धारणा राखेको छु।’
सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखी काम गर्ने प्रस्ताव गरेको थियो। सोही विषयलाई लिएर निर्वाचन आयोगले सरकारको उक्त प्रस्तावप्रति आपत्ति जनाउँदै सर्वदलीय बैठक बोलाएको थियो।
सहमहामन्त्री परियारले छरिएर रहेका निर्वाचन कानुनलाई एकीकृत गर्ने गरी आयोगले विधेयक तयार पारेको र त्यस विषयमा पनि कांग्रेस छिटोभन्दा छिटो संसद्मा पेस गर्नुपर्ने पक्षमा रहेको बताए।
निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने कार्य पालिका कार्यालयमार्फत गर्ने तयारी गरेको धारणा राखे पनि त्यस विषयमा भने पार्टीले असहमति जनाउँदै जिल्ला निर्वाचन कार्यालयलाई नै अग्रसर गर्नुपर्ने कुरा राखेको उनको भनाइ छ।
यस्तै उनले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने विषय र राजनीतिक दलको लेखा एवं लेखा परीक्षण गर्ने कुरामा पार्टीको सहमति रहेको बताए।

                                             
                                             
                                             
                                             
                                             

