काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ राजनीतिक दलहरूसँग विचार र लक्ष्य नभएको बताएका छन्। राजनीतिक दलहरूले आफूलाई स्पष्ट रूपमा अगाडि बढाउन नसक्दा केही पपुलिष्टहरू विकल्पका रूपमा आउन खोजेको उनको भनाइ छ।
नयाँ राजनीतिक दलहरू व्यापारिक पुँजीवादको पक्षधर रहेको बताउँदै उनले नयाँको नामबाट सुरु भएका राजनीतिक दलहरूसँग ठोस आधार र धरातल नभएको जिकिर गरे। समाजमा असन्तुष्टिको विकल्पका रूपमा कहिलेकाहीँ पपुलिष्टहरू राजनीतिमा आउने गरे पनि समस्या समाधान गर्न नसक्ने उनले दाबी गरे।
एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्नेबित्तिकै राजनीतिमा आएर राजनीतिलाई सही बाटोमा डोहोर्याउन सकिन्छ भन्ने मान्यता सर्वथा अनुचित र गलत रहेको उनको ठम्याइ छ।
‘नयाँ भनिने पार्टीहरू न त विचारधारात्मक जगमा खडा भएका छन्। न त उनीहरूको समस्या समाधान गर्नका लागि व्यवस्थित कुनै सोच छ,’ उनले भने।
नयाँ राजनीतिक दलका नेताले नयाँ र पुरानोको भाष्य खडा गरेर नयाँ हौं भन्ने अर्थमा आफूलाई प्रस्तुत गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस गरिरहेको उनले आरोप लगाएका छन्।
‘नयाँको नाममा सुरु भएको पलुलिष्ट जुन प्रकारको राजनीति छ, यो राजनीति भनेको दलाल नोकरशाही पुँजीवादलाई पोषण गर्ने कुरा मात्रै हो,’ उनले भने, ‘समाज परिवर्तन गर्न पार्टीले कुन प्रकारका नीति अघि सार्नुपर्छ भन्ने प्रश्नका सन्दर्भबारे नीतिगत बहस गर्नै पर्दछ। वैचारिक बहस गर्नै पर्दछ।’
उनले पछिल्लो समय जनतामा देखिएका असन्तुष्टि र निराशाहरू विचारधारात्मक काममा जोड दिन नसक्दाका परिणाम भएको बताए। राजनीतिक दलहरूले विचारधारात्मक जगमा नेपाली समाजलाई ध्रुवीकृत गर्ने प्रयास गरेको भए यस प्रकारका निराशाका स्थितिहरू उत्पन्न नहुने उनको भनाइ छ।
राजनीतिक दलहरूले नीतिगत र वैचारिक रूपमा आफूलाई अगाडि बढाउन नसक्दाको परिणामको रूपमा अहिले पपुलिष्टहरू राजनीतिको विकल्पको रूपमा आएको बताए।
पपुलिष्टहरूले कहिले पनि समाजका समस्याहरूलाई समाधान गर्न नसक्ने उनको दाबी छ। नेपाली समाजलाई वैचारिक र राजनीतिक हिसाबबाट अगाडि बढाउनुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताए।
‘पछिल्लो समय जनतामा जुन प्रकारका असन्तुष्टि र निराशाहरू देखा परेका छन्। त्यसमा स्वभाविक रूपमा हामीले विचारधारात्मक काममा जोड दिन नसक्दाका परिणामका रूपमा रहेका छन्। राजनीतिक दलहरूले विचारधारात्मक जगमा नेपाली समाजलाई ध्रुवीकृत गर्ने प्रयास गरेको भए यस प्रकारका निराशाका स्थितिहरू उत्पन्न हुनसक्ने थिएनन्,’ उनले भने।
राजनीतिक दलहरूले नीतिगत र वैचारिक रूपमा आफूलाई अगाडि बढाउन नसक्दाको परिणामको रूपमा हेर्नुहुन्छ भने आज पपुलिष्टहरू राजनीतिको विकल्पको रूपमा आउन खोजिरहेको उनले जिकिर गरे।
‘समाजमा कुनै एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्नेबित्तिकै राजनीतिमा आएर राजनीतिलाई सही बाटोमा डोहोर्याउन सकिन्छ भन्ने मान्यता सर्वथा अनुचित र गलत मान्यता हो। राजनीति आफैंमा एउटा विज्ञान हो,’ उनले भने।
राजनीति गर्न चाहनेहरू राजनीतिक विज्ञानअन्तर्गत राजनीतिक संघर्षको माध्यमबाट आफूलाई स्थापित गर्न सक्नुपर्ने उनले बताए।
‘नीतिगत मान्यताका आधारमा स्पष्ट लक्ष्य र उद्देश्यका साथ गरिने कामहरूले मात्रै समाजलाई सही प्रकारको बाटो देखाउन सक्दछन् भन्ने कुरालाई हामीले बुझ्नु जरुरी छ। त्यसका आधारमा नेपाली समाजलाई वैचारिक र राजनीतिक हिसाबले अगाडि बढाउनुपर्ने आवश्यकता छ,’ उनले भने।
महासचिव पोखरेलले नेपालको राजनीतिलाई विचारधारात्मक जगमा, नीतिगत प्रश्नमा केन्द्रित गर्न सक्नुपर्ने उल्लेख गरे। राजनीतिक क्रान्तिका समयमा सबै दलहरू मिलेर अघि बढे जसरी नै समृद्धिका लागि, विकासका लागि राजनीतिक दलहरू एक हुन जरुरी रहेको उनले जनाए।
उनले साना पार्टीहरूले आफ्नो अस्तित्वलाई सत्ताको बार्गेनिङको रूपमा प्रयोग गर्ने र मूलुकको राजनीतिलाई नीतिविहीनतातिर लैजाने गरेको आरोप लगाए। यस्ता गतिविधिलाई अन्त्य गर्न एक्ला-एक्लै चुनाव लड्न जरुरी रहेको उनले उल्लेख गरे।
राजनीतिलाई विकृत बनाउन साना दलहरूले खेलिरहेको भुमिकाबाट राजनीतिलाई जोगाउन कांग्रेस नेतृत्व तयार नहुँदा अहिलेको राष्ट्रको समस्या समाधान गर्न नसक्ने संसद निर्माण भएको उनको बुझाइ छ।
‘अब हामीले नेपालको राजनीतिलाई विचारधारात्मक जगमा, नीतिगत प्रश्नमा केन्द्रित गर्न सक्नुपर्दछ। जसरी हामी राजनीतिक क्रान्तिका समयमा दलहरू मिलेर अगाडि बढ्यौं। समृद्धिका लागि, विकासका लागि राजनीतिक दलहरू मिल्ने होइन,’ उनले भने।
राजनीतिक दलबीच नीतिगत प्रतिष्पर्धालाई आत्मसाथ गर्नु जरुरी रहेको उनले बताए।
‘गएको चुनावको समयमा पनि हामीले नेपाली कांग्रेसलाई भनेका थियौं, साना पार्टीहरूले आफ्नो अस्तित्वलाई सत्ताको बार्गेनिङको रूपमा प्रयोग गर्ने र मूलुकको राजनीतिलाई नीतिविहीनतातिर लैजाने जुन प्रकारको भुमिका खेलिरहेका छन्, यसलाई बदल्नका लागि नेपाली कांग्रेस पनि एक्लै चुनाव लड्ने संकल्प गर्नुपर्दछ,’ उनले भने।
साना दलले राजनीति विकृत गर्न भुमिका खेलिरहेको दाबी गर्दै उनले एमालेले यस्तो प्रवृत्तिबाट राजनीतिलाई जोगाएको तर कांग्रेसले नयाँ दलहरूसँगै मिलेर चुनाव लडेकाले अहिलेको संसदमा समस्या देखिएको जिकिर गरे। यसकारण नेपालमा राजनीतिक ध्रुवीकरणको माध्यमबाट अगाडि बढ्नु जरुरी रहेको उनले स्पष्ट पारे।
निर्वाचनलाई राजनीतिक परिवर्तनको रूपमा प्रयोग गर्न नसकिएकोप्रति उनले दुःख व्यक्त गरे।
‘नेपालको राजनीतिक क्रान्तिको अपूर्णतालाई सम्बोधन गर्ने माध्यमका रूपमा हामीले आवधिक रूपमा सम्पन्न हुने चुनावलाई लिनुपर्दछ। त्यस अर्थमा चुनाव हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण विषय हो। त्यो चुनाव, चुनावका लागि मात्रै होइन भन्ने कुरालाई बुझ्नु जरुरी छ,’ उनले भने, ‘राजनीतिक क्रान्तिले ल्याउन नसकेको परिवर्तन सम्पन्न गर्ने अभिभारा चुनावका माध्यमबाट निर्वाचित भएका जनप्रतिनिधिको काँधमा रहन्छ भन्नेकुरालाई हामीले ठिक ढंगले आत्मसाथ गर्न सकेनौं भने नेपाली समाजको विकास र रूपान्तरणको हाम्रो आकांक्षा पनि पूरा गर्न सकिँदैन।’
महासचिव पोखरेलले व्यापारिक पुँजीवादमा आश्रित बन्न पुगेको नपालको अर्थतन्त्रलाई स्वाधीन अर्थतन्त्रमा बदल्न सक्नुपर्ने बताए। उनले नपालको अर्थतन्त्रलाई स्वाधीन अर्थतन्त्रमा बदल्नसके मात्रै नेपालको राजनीतिक प्रणाली बलियो हुने आधार बन्ने बताए।
‘व्यापारिक पुँजीवादमा आश्रित बन्न पुगेको जुन प्रकारको हाम्रो अर्थतन्त्र छ, त्यसलाई स्वाधीन अर्थतन्त्रमा बदल्न सक्नुपर्दछ। तबमात्रै हाम्रो बदलिएको जुन प्रकारको राजनीतिक प्रणाली छ, त्यो राजनीतिक प्रणाली बलियो हुने आधार तयार हुन्छ,’ उनले भने।
उत्पादक शक्तिको ५ वटा पक्षहरूमा विशेष जोड दिन आवश्यक रहेको उल्लेख गरे। उनले बदलिएको उत्पादनलाई सम्बन्ध, बजारको माग र जनशक्ति निर्माण गर्ने हिसाबका आधारमा शिक्षा व्यवस्थामा परिवर्तन गर्न नसकेसम्म राष्ट्र अगाडि बढ्न नसक्ने महासचिव पोखरेलले बताए।
जनतालाई उत्पादनका काममा सबल र सक्षम बनाउने कुराको आधार भनेको शिक्षा व्यवस्था भए पनि नेपालको आवश्यकताका आधारमा जनशक्ति निर्माण गर्ने काम नेपालको शिक्षा व्यवस्थाले गर्न नसकेको उनले जिकिर गरे।
समाज विकसित बनाउन शिक्षा व्यवस्थामा आमूल परिवर्तन आवश्यक रहेको बताए। प्राविधिक र व्यवसायिक शिक्षातर्फ समाजलाई डोर्याउन जरुरी रहेको बताए।
‘जबसम्म हामीले बदलिएको उत्पादन सम्बन्धका आधारमा, बजारको डिमान्डका आधारमा जनशक्ति निर्माण गर्ने हिसाबले शिक्षा व्यवस्थामा परिवर्तन गर्न सक्दैनौं, राष्ट्र अगाडि बढ्न सक्दैन। मानिसलाई उत्पादनका काममा सबल र सक्षम बनाउने कुराको आधार भनेको शिक्षा व्यवस्था हो,’ उनले भने, ‘तर हाम्रो शिक्षा व्यवस्था परम्परागत प्रकारको छ। एकप्रकारले भन्ने हो भने बेरोजगार उत्पादन गर्ने शिक्षा व्यवस्थाको रूपमा रहेको छ।’
नेपालको शिक्षा व्यवस्थाले देशको आवश्यकताअनुरूप जनशक्ति निर्माण गर्न नसकेको भन्दै उनले शिक्षा व्यवस्थामा सुधार गरेपछि मात्रै समाज विकसित हुने उनले जनाए।
स्वास्थ्य पूर्वाधारको उपलब्धता, नागरिकले पर्याप्त सेवा र सुरक्षाको अनुभूति पाउनुपर्ने साथै शारीरिक र मानसिक रूपमा सबल नागरिकहरूको निर्माण गर्नेकुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
‘स्वास्थ्य पूर्वाधार निर्माण, नागरिकले पर्याप्त सेवा र सुरक्षाको अनुभूति पाउनुपर्छ। शारीरिक र मानसिक रूपमा सबल नागरिकहरूको निर्माण गर्नेकुरालाई हामीले सामाजिक परिवर्तनका सन्दर्भमा अपरिहार्य विषय हो,’ उनले भने।