देउवाले नेताहरूलाई भने : बालकृष्णबारे धेरै पीर नलिनू, कसैले दोषी भनेर दोषी ठहरिँदैन

हिमाल प्रेस ९ जेठ २०८० १८:३२ | Tuesday, May 23, 2023
देउवाले नेताहरूलाई भने : बालकृष्णबारे धेरै पीर नलिनू, कसैले दोषी भनेर दोषी ठहरिँदैन शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणबारे धेरै पीर चिन्ता नगर्न नेताहरूलाई आग्रह गरेका छन्। मंगलबार देउवाको निवास धुम्बाराही पुगेका खाणनिकट नेताहरूलाई देउवाले यस्तो आग्रह गरेका हुन्।

तरुण दलका अध्यक्ष विद्वान गुरुङलगायतका नेतासँग देउवाले मिडिया र बाहिरका मान्छेले दोषी हो भन्दैमा खाण दोषी नहुने बताएका हुन्। ‘हामी बिहान सभापतिलाई भेट्न गएका थियौँ उहाँले यो विषयमा धेरै पीर चिन्ता नलिन भन्नुभयो’ गुरुङले हिमालप्रेससँग भने। देउवाको भनाइ उदृत गर्दै गुरुङले भने, ‘कसैले दोषी बनाएर दोषी हुने हो र मिडियाले पुलिसले दोषी हो भनेर मात्रै हुन्छर? तपाईंहरू धेरै पीर चिन्ता नलिनू।’

देउवाले खाण पैसामा लोभिने नेता नभएको पनि नेताहरूसँग भनेका थिए। अर्का एक नेताले भने,’खाणजीसँग मेरो संगत धेरै समयको छ। पैसामा लोभिने मान्छे उहाँ होइन। कसैलाई प्रमाण नभई दोषी करार गर्न कहाँ पाइन्छ भन्नु भयो।’

देउवा निवास धुम्बाराहीमा तरुण दलका अध्यक्ष गुरुङसहित १० जना नेता पुगेका थिए। कांग्रेसभित्र खाणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने नगर्ने विषयमा पनि ठूलो विवाद हुँदै आएको छ। पार्टीका सहमहामन्त्री महेन्द्र यादवले त पदाधिकारी बैठकमै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई कारबाही गर्नुपर्ने बताउँदा कारबाही गर्न नहुने बताएका थिए। त्यसो त सभापति देउवा पनि यो प्रकरणमा पार्टीमा हुने विरोधबाट जोगिन पनि केन्द्रीय समितिको बैठकबाट भागिरहेका छन्।

यो प्रकरणमा सरकारले ३३ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ। ३३ मध्ये १६ जनालाई प्रहरीले पक्राउ गरी बयान पनि लिई सकेको छ।

प्रकाशित: ९ जेठ २०८० १८:३२ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast