ईपीएस कोरिया शाखा परिसरमै अवैध रूपमा बाँडिन्छ काेरियाली सिमकार्ड

हिमाल प्रेस ३ जेठ २०८० १२:१३
8
SHARES
ईपीएस कोरिया शाखा परिसरमै अवैध रूपमा बाँडिन्छ काेरियाली सिमकार्ड

काठमाडौँ- दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा कोरियाको प्रिपेड सिमकार्ड वितरण गरिएको छ। ललितपुरमा रहेको ईपीएस कोरिया शाखाको कार्यालय परिसरमा नेपालीहरूलाई सिमकार्ड वितरणका नाममा ठगी भइरहेको हो। सो सिमकार्ड पनि नयाँ होइन, कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको पाइएको छ।

सिमकार्डको पैसा नलिए पनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति तीन हजार रूपैयाँसम्म उठाउने गरेको पाइएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कट्वालले बताए। यस्तो कार्य रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत सम्बन्धित निकायलाई जानकारी दिएको उनले बताए।

उनले अवैध रूपमा कोरियाको प्रिपेड सिमकार्ड बिक्री वितरण भइरहेको गुनासो आएसँगै गत पुस ४ गते प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुगमन गरी कारबाही गर्न अनुरोध गर्दै पत्र काटेको जानकारी दिए। तर पनि सिमकार्ड वितरण नरोकिएपछि पुनः वैशाख ३१ गते दोस्रो पटक प्रहरीलाई जानकारी दिएको कट्वालले बताए।

साथै कार्यालय परिसर वरपर बीमा, फोटोकपी, प्रिन्टिङलगायतका कार्यहरू बजार मूल्य भन्दा चर्को शुल्क लिई ठगी गर्ने गरेको पनि उनले बताए। ठगी कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको उनको भनाइ छ।

पत्राचार गरे पनि हालसम्म भने प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अनुगमनसमेत गर्न नआएको उनले गुनासो गरे। -न्युज एजेन्सी नेपाल

प्रकाशित: ३ जेठ २०८० १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 8 =