काठमाडौँ- दार्चुलाको छाङरुको बोलिङमा गएको हिमपहिरोमा परेकामध्ये पाँच जना अझै बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार पहिरोमा परेकामध्ये भागेर बाँचेका पाँच जनाले सम्पर्कमा आएका छन्।
आज दिउँसो तीन बजेतिर पहिरो गएको थियो। यार्सागुम्बा टिप्न गएकाहरूले बस्नका लागि बनाएको त्रिपालको टहरोमा हिमपहिरो खसेको थियो।
‘पहिरोमा परेर पाँच जना बेपत्ता छन्। भागेर बाँचेका पाँच जना चाहिँ सम्पर्कमा आउनु भएको छ’, प्रजिअ जोशीले हिमालप्रेससँग भनिन्, ‘ प्रहरीको टोली पहिरो गएको स्थानमा पुगे पनि अहिले हिमपात भइरहेकोले खोजी हुन सकेको छैन।’
उनले भोलि बिहानैदेखि खोजीकार्य हुने पनि बताइन्। बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी ५० नम्बर गुल्म दार्चुलाका ३० जनाको टोली गएको छ। बेपत्ता हुनेहरू केही डढेलधुराका रहेको बताइएको छ।