बेपत्ता आरोही अनुराग मालुको ४ दिनपछि जीवितै उद्धार

हिमाल प्रेस ७ वैशाख २०८० १५:१९ | Thursday, April 20, 2023
बेपत्ता आरोही अनुराग मालुको ४ दिनपछि जीवितै उद्धार

म्याग्दी- म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ।

भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज (बिहीबार) बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएको थियो। सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०ः३० बजे ७ हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाइँले जानकारी दिए।

‘हेलिकप्टरले अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ,’ उनले भने। परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ। मालु सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका थिए।

आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा मालु बेपत्ता भएका थिए। अन्नपूर्ण हिमालबाट यसअघि मंगलबार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि जीवितकै उद्धार गरिएको थियो। काठमाडौँ लगिएका कौरको अवस्था सामान्य रहेको ट्रेकिङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ।

अन्नपूर्ण आरोहण गरेर फर्कंने क्रममा कटल्याडका आरोही नोयल हान्नाको मंगलबार मृत्यु भएको थियो। हान्न सेभेन समिट ट्रेकबाट अन्नपूर्ण हिमाल आरोहणमा गएका थिए।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङको भूगोलमा अवस्थित छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका थिए। बुधबारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए।

अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो। १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए। रासस

प्रकाशित: ७ वैशाख २०८० १५:१९ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast