दुर्गममा उडान गर्न तीन विमान किन्दै वायु सेवा

हिमाल प्रेस ४ वैशाख २०८० १७:३८ | Monday, April 17, 2023
दुर्गममा उडान गर्न तीन विमान किन्दै वायु सेवा

काठमाडौँ- नेपाल वायु सेवा निगमले दुर्गममा उडान गर्न तीनवटा विमान किन्ने भएको छ। दुर्गम क्षेत्रमा उडान गर्ने र हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले निगमले तीनवटा साना विमान किन्ने भएको हो।

निगमको आन्तरिक स्रोतबाटै विमान खरिद गरिने निगमले जानकारी दिएको छ। त्यसका लागि अध्ययन गरेर निगम व्यवस्थापन उपसमितिले निगममा प्रतिवेदन पेस गरिसकेको छ।

निगमले विमान खरिदका लागि उपसमिति गठन गरेको र उपसमितिले काम समेत थालिसकेको निगमको भनाइ छ। ‘यस कार्यमा विशेष पहल गरी यथासक्य छिटो त्यस प्रकारका जहाज खरीद कार्य सम्पन्न गर्नको लागि निगम सञ्चालक समितिद्वारा सञ्चालक समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उक्त उपसमितिले कार्य समेत सुरु गरिसकेको छ।’

उक्त विमानहरू निगमले खरिद गर्नेगरी निर्माता कम्पनीसँग खरिद गर्न लागेको निगमको विज्ञप्तिमा उल्लेख छ। ‘यी जहाजहरू निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रूपले निर्माता कम्पनीसँग खरीद गर्न लागेको हो,’ निगम प्रवक्ता रमेश पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ, ‘निगमले नयाँ ३ वटा जहाज खरीद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा प्रदान गर्न सकिने छ।’

त्यस्तै दुर्गम क्षेत्रमा हुने उडानले पर्यटन प्रवद्र्धन हुने र बजार सन्तुलित भई हवाई भाडा दर पनि केही सस्तो हुने निगमको भनाइ छ।

प्रकाशित: ४ वैशाख २०८० १७:३८ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast