मौलाकाली केबलकार सञ्चालनमा, पाँच मिनटमै मन्दिर पुग्न सकिने

हिमाल प्रेस १ वैशाख २०८० १६:५२
12
SHARES
मौलाकाली केबलकार सञ्चालनमा, पाँच मिनटमै मन्दिर पुग्न सकिने

नवलपुर- नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ। गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार आजदेखि सञ्चालनमा आएको हो। नयाँवर्षको अवसर पारेर आजदेखि सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए।

केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरे।

केबलकारमार्फत मौलाकाली मन्दिरसम्म पाँच मिनेटमै पुग्न सकिनेछ। करिब दुई किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन्। हाल केबलकारले दुइतर्फी मूल्य ५ सय ५० रुपैँया कायम गरिएको शाहले जानकारी दिए।

उनका अनुसार केबलकारले तीनदेखि चार फिटसम्मका बालबालिकाका लागि ३ सय ३०, विद्यार्थीका लागि ४ सय १५, ज्येष्ठ नागरिकका लागि ४ सय १५ र फरक क्षमता भएकाका लागि २ सय ७५ रुपैयाँको टिकट दर राखिएको छ। केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र तीन फिटभन्दा कमका बालबालिकाका लागि निःशुल्क सेवा दिने जनाएको छ।

आइएमई समूहको प्रवर्द्धनमा करिब दुई वर्षअघिदेखि निर्माण सुरु गरिएको केबलकारले आजदेखि नियमित सेवा सुरु गरेको शाहले बताए। केबलकारको एउटा डब्बा (गोन्डुला)मा एक पटकमा आठ जना यात्रु चढ्न सक्ने व्यवस्था रहेको भन्दै शाहले केबलकारबाट पाँच मिनेटमा मन्दिर पुगिने बताए।

‘नेपालमा भित्रिएको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त केबलकार भएकाले यात्रुहरु पूर्णरुपमा सुरक्षित रहनुहुनेछ,’ उनले भने, ‘अहिले हामीले बिहान ६ बजेबाट केबलकार चलाउँछौँ, आवश्यकताअनुसार चौबीसै घण्टा सञ्चालन गर्न सकिन्छ।’

केबलकारको बटम स्टेशनबाट अपर स्टेशनसम्म १ हजार २ सय मिटर दुरीमा ६ वटा टावर निर्माण गरिएको शाहले जानकारी दिए। यात्रु बोक्ने १२ वटा डब्बा (गोन्डुला, एउटा सामान बोक्ने तथा अर्को सर्भिसिङ डब्बा राखिएको छ। एउटा गोन्डुलामा एक पटकमा ८ जना यात्रु अटाउने क्षमता छ।

आइएमई समूहको ५१ प्रतिशत र स्थानीयको ४९ प्रतिशत लगानी रहने गरी स्थापना गरिएको केबलकार गैँडाकोट–१ धारापानीबाट चढ्ने र मन्दिर नजिक ओर्लने स्टेशन राखिएको छ। माथिल्लो स्टेशनसँगै ६० कोठा रहने गरी चार तारे होटल निर्माणको काम तीव्ररुपमा अगाडि बढेको पनि शाहले जानकारी दिए। केबलकारको निर्माण अस्ट्रियन कम्पनीले गरेको हो।

सञ्चालनको पहिलो दिननै पाँच हजारभन्दा बढी यात्रुले केबलकारको सेवा लिएका शाहको भनाइ छ। नयाँ वर्षको अवसर पारेर आजदेखि सञ्चालन गरिएको केबलकारको औपचारिक उद्घाटन भने केही दिनपछि गरिने शाहको भनाइ छ। रासस

प्रकाशित: १ वैशाख २०८० १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =