कालीगण्डकीमाथि बञ्जीजम्प

हिमाल प्रेस १४ मंसिर २०७९ १०:१५
10
SHARES
कालीगण्डकीमाथि बञ्जीजम्प

ढोरपाटन- हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए। तीन पटकसम्म आउँदा पनि उनलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुंगे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराखेका छन्।

दुईपटक त उनले बञ्जीजम्प पनि गरिसके। परिवारसहित घुम्न आएका घिमिरे अझै केही दिन यहाँ रमाउने योजनामा छन्। यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यम धेरै भएको हुँदा अझै केही दिन बागलुङ र पर्वतमा रहने घिमिरेले बताए। ‘यहाँ आएपछि रिफ्रसमेन्ट भएको छ, यो हाम्रो पारिवारिक घुमघाम हो अझै केही दिन बागलुङ र पर्वतमा रहेका घुम्ने ठाउँ अवलोकन गरेर फर्किने छौँ,’ उनले भने।

चितवनबाट बञ्जीजम्प गर्न बागलुङ आएकी रजनी ढकालले यो ठाउँ निकै रमाइलो लागेको बताइन्। टिकटक र फेसबुकमा धेरैले बञ्जीजम्प गरेको देखेपछि आफू पनि आएको उनले बताइन्। ‘बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो, तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदोरहेछ, फेरि एकपटक बञ्जी गर्ने रहर लागेको छ, बिदा मिलाएर अर्कोपटक आउने मन छ,’ उनले भनिन्।

बञ्जीसँगै तल कालीगण्डकी नदी र माथि धवलागिरि हिमालको दृश्यले आफूलाई मोहित बनाएको ढकालले बताइन्।

पोखराबाट घुम्न आएकी ८३ वर्षीया जमुना अधिकारीले यो ठाउँ र बञ्जी निकै रमाइलो लागेको बताइन्। ‘नाति केटाले मोबाइलमा यो बञ्जीको भिडियो देखाएको थियो, भिडियो देख्दा मलाई निकै रमाइलो लाग्यो, आज यहाँ आउने मौका मिलेको छ,’ उनले भनिन्।

बञ्जीजम्प द क्लिप प्रालिमार्फत सञ्चालनमा आएको हो। बञ्जीजम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने द क्लिप प्रालिका सञ्चालक प्रकाश प्रधानले बताए। उनले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक बञ्जीमा घुम्न आउने गरे पनि सीमित मान्छेले मात्रै साइक्लिङ र बञ्जी गर्ने गरेको बताए। पछिल्लो समय विदेशी पर्यटकको आगमन पनि बढ्दै गएको उनको भनाइ छ।

बञ्जीसँगै बलेवा क्षेत्रमा रेष्टुरेण्ट, गुलेली पिङ, स्काइ साइक्लिङलगायत आधा दर्जन बढी संरचना निर्माण भएका छन्। ती संरचनामा पनि पर्यटकको घुइँचो लाग्न थालेको प्रधानको भनाइ छ। अहिले स्विङ, स्काइ साइक्लिङ र बञ्जी गर्नेको संख्या बढ्दै गएको उनको भनाइ छ। उनका अनुसार बाह्य पर्यटक पनि यहाँ आउन थालेका छन्।

२०७३ देखि पुलको निर्माण सुरु गरिएको थियो। २०७६ सम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो। यसको लम्बाइ ५२५ मिटर छ।

खोलादेखि पुलको उचाइ २२८ मिटर छ। कम्पनीले विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ। बञ्जीजम्पका कारण बलेवा र कुश्मामा व्यापारव्यवसाय बढ्दै गएको छ।

प्रकाशित: १४ मंसिर २०७९ १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =