 
                             
                                            लुम्बिनी- मदन भण्डारी स्पार्टस एकेडेमीको आयोजनामा लुम्बिनीमा भएको पिस हाफ म्याराथन प्रतियोगितामा पुरूषतर्फ दीपक अधिकारी र महिलातर्फ राजपुरा पछाईले प्रथम भएका छन्।
विहिबार सम्पन्न २१ किलोमिटरको दूरीको प्रतिस्पर्धामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घण्टा ६ मिनेट २ सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। उनले १ लाख ५० हजार रुपैयाँ नगद पाए।
यस्तै महिलातर्फ २१ किलोमिटरको दूरीमा नेपाल प्रहरीकी पछाइले १ घण्टा २४ मिनेट २ सेकेन्डमा पूरा गर्दै प्रथम भइन्। उनले १ लाख ५१ हजार रुपैयाँ नगद शिल्ड तथा प्रमाणपत्र पाइन्।
प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पारखी १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भए। त्रिभुवन आर्मीका मुकेश पाल १ घण्टा ७ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल १ घण्टा ७ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै चतुर्थ भए।
महिलातर्फ एपीएफका विन्द्रा धान्के श्रेष्ठ १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भइन्। नेपाल प्रहरीका रेखा विष्ट १ घण्टा २६ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी १ घण्टा २८ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै चतुर्थ भइन्। दुवै विधामा द्वितीयले ७५ हजार, तृतीयले ५० हजार र चतुर्थले ३० हजार रुपैया नगद पुरस्कार पाए।
प्रतियोगिताका विजेतालाई अपराह्न आयोजना हुने मूल समारोहमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र वितरण गर्नेछन्। प्रतियोगितामा देशभरका दुई हजार ५ सय खेलाडी म्याराथनमा सहभागी भएको अध्यक्ष ध्रुव आचार्यले बताए।
बुद्ध जन्मस्थलस्थित शान्ति दीपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मसाल बालेर खेलाडीलाई हस्तान्तरण गरेपछि म्याराथन सुरु भएको थियो। मायादेवी प्रवेशद्वारबाट सुरु भएको म्याराथन पर्साचौकबाट पुनः महिलबार हुँदै दुई फन्का लगाएर २१ किलोमिटरको दूरी पार गरेका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 