 
                             
                                            पोखरा– करिब २ करोड लागतमा पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ सञ्चालनमा आएको छ। पाल्पाको पर्यटकीयस्थल रानीमहल स्वरूपमा निर्मित दुईतले भवन निर्माण गरी पाल्पा हाउस सञ्चालन गरिएको हो। जसको शुक्रबार पोखरा र तानसेनका मेयरले संयुक्त उद्घाटन गर्ने छन्।
पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पाका मौलिक उत्पादन पोखरामा बिक्री गर्ने उद्देश्यले पाल्पा हाउस सञ्चालन गरिएको बताए।
१० वर्षको लागि जग्गा लिजमा लिएर निर्मित पाल्पा हाउसमा १७ सटरमा विभिन्न खालका पसल सञ्चालित छन्। कम्पनीले रानीमहल रेष्टुरेन्टमा पाल्पाली परिकार चुकाउनी, बटुक, छोइलालगायत पस्किने छ। यस्तै पाल्पाली ढाका, करुवा यही पाइनेछ भने कृषिजन्य उत्पादनहरू एकैथलोमा उपलब्ध गराउनेछ।
यसले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा ठूलो महत्त्व राख्ने विश्वास गरिएको छ।
नयाँ र नौलोस्वरूपमा पाल्पा हाउस निर्माणका निम्ति पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले पहल थालनी गरेका हुन्।
पाल्पाली समाज पोखराका अध्यक्ष रेशम थापा आर्थिक गतिविधिसँगै पर्यटन पर्यटनमा यसले विशेष महत्त्व राख्ने बताउँछन्।
पाल्पाली समाज पोखराले बिस्तारै बृहत् रूप लिँदै गएको उनको भनाइ छ। समाजले नै सहकारी जन्मायो, साथै पाल्पा हाउससँगै पाल्पाली कोलोनी पनि छिट्टै सञ्चालनमा ल्याउने थापाले बताए।
पाल्पा हाउसमा ७० जना सेयर सदस्य छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 