नेपालले विद्युत बेच्‍ने बेला भएको छैन : ओली

हिमाल प्रेस ३ चैत २०७९ १७:४१ | Friday, March 17, 2023
नेपालले विद्युत बेच्‍ने बेला भएको छैन : ओली फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

भारतप्रति संकेत गर्दै ६ रुपैयाँ प्रतियुनिटमा विद्युत बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा विद्युत खरिद गर्न नहुनेसमेत उनले स्पष्ट पारे।

भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्नका लागि विद्युत आवश्यक नभएको गलत प्रचार गरेको र नेपाल त्यसको भ्रममा पर्न नहुने उनले दोहोर्‍याए।

अध्यक्ष ओलीले मुलुकभित्रै विद्युत खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरेपछि मात्रै यसको विक्रीको कुरा गर्न उपयुक्त हुने उल्लेख गरे।

भारतले अढाइ रुपैयाँमा प्रतियुनिट आफ्नो जनतालाई विद्युत दिने गरेको तर नेपाललाई भने प्रतियुनिट १२ रुपैयाँमा बेच्ने काम गरेर अन्याय गरेको उल्लेख गर्दै त्यस्ता खालको काममा लाग्न नहुने ओलीको भनाइ छ।

‘विद्युत निर्यात किन गर्नु पर्‍यो? पहिले यहाँ खपत गरौं। यहाँ रोजगारी सृजना गरौँ। उत्पादन उद्योगलाई अघि बढाऔं। हाम्रो राष्ट्रिय खपत क्षमता वृद्धि गरौं। अनि मात्रै व्यापारका कुरा गरौंला। अहिले विद्युतको हाहाकार छ। तर हाम्रो विद्युत सस्तोमा किन्नका लागि के भन्दिन्छ-हामी कहाँ त विद्युत आवश्यकता भन्दा बढि भइसक्यो। त्यसो भएपछि हाम्रो बार्गेनिङ क्षमता कमजोर हुने भयो। तपाईंहरूलाई नचाहेको भए पनि किनि दिनोस् भन्नु पर्‍यो। त्यस्तो पनि हुन्छ कुरा। नचाहिएर कसैले किन्छ?,’ उनले भने।

नेपालको विद्युत क्षमता आवश्यकता भन्दा बढी विकास भइसकेको बताउँदै उनले हामीलाई बार्गेनिङ गर्नका लागि भारतले विद्युत किन्ने भनिरहेको ओलीको भनाइ छ।

‘हामीलाई व्यापारको खुब चाहना छ। किन्छौं १२ रुपैयाँमा। उपभोक्ता कहाँ पुग्दा ३८ सम्म पुग्यो। बेच्छौं कतिमा ? ६ रुपैयाँमा बेच्छौं कि क्या हो। हाम्री आमा कति बाठी-६ मा बेची, १२ मा किनी। अनि हामीलाई ऊर्जा व्यापारको चिन्ता छ हामी यो भन्न सक्दैनौ। यत्रो ऊर्जाको देश एक सय १२ वर्ष अगाडि हामी भन्दा १३ वर्ष अघि इन्डियाले सुरु गरेको थियो। त्यो पनि हामी भन्दा सानो स्केलमा। चीनले पनि हामी भन्दा केही अघि तर सानो स्केलमा ऊर्जा उत्पादन सुरु गरेको थियो,’ उनले भने।

प्रकाशित: ३ चैत २०७९ १७:४१ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast