झापा- झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अग्निपीडित आफ्ना दुई सदस्यलाई आर्थिक सहयोग गरेको छ ।
गत माघ १ गते आगजनीबाट पसलमा क्षति पुगेका दमक-६ नमूना मार्गका संगीता श्रेष्ठ र सविता श्रेष्ठलाई जनही ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको संस्थाका सहव्यवस्थापक चन्द्र थापाले जानकारी दिए।
यस्तै आफ्ना सदस्यका परिवारबाट माध्यमिक तहमा उत्कृष्ट हुने रोशन पोख्रेललाई १० हजार रुपैयाँ तथा मुटुको शल्यक्रिया गरेका दमक–९ का यज्ञनिधि चम्लागाईलाई ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।
संस्थाले आफ्ना सदस्यलाई लक्षित गरी विभिन्न रोगका शल्यक्रिया गर्दा राहतस्वरुप ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बताए।
यस्तै, संस्थाको गौरवशाली आयोजनाको रुपमा रहेको ‘मेची आवास’ कार्यक्रमअन्तर्गत ५७ घर निर्माण गरिएको छ। नवनिर्मित घर चाँडै हस्तान्तरण गरिने संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए।