परीक्षाको मुखमा विद्यालय बन्द गरेर शिक्षकहरू भारत भ्रमणमा

हिमाल प्रेस १३ फागुन २०७९ २०:४६ | Saturday, February 25, 2023
परीक्षाको मुखमा विद्यालय बन्द गरेर शिक्षकहरू भारत भ्रमणमा

लुम्बिनी– रुपन्देहीको कोटहीमाई गाउँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्किएको छ।

वार्षिक परीक्षा ०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा भारतको उत्तराखण्ड भ्रमणमा निस्किएको हो।

कक्षा १ देखि १२ सम्मका पठनपाठन पूर्ण रूपले ठप्प पारेर शुक्रबार १२ गतेदेखि १७ गतेसम्मका लागि भ्रमणमा निस्केको कोटहीमाई गाउँपालिकास्थित सो विद्यालयको भ्रमण टोली शनिबार भारतको हरिद्वार पुगेको सामाजिक सञ्जाल फेसबुकमार्फत देखिएको छ।

आगामी चैत ५ गतेदेखि कक्षा १ देखि कक्षा ७ र कक्षा ९ को परीक्षा सञ्चालन हुने सूचना छ। कक्षा ८ को परीक्षा चैत ६ गतेदेखि सञ्चालन हुने निश्चित छ।

राष्ट्रिय परीक्षा बोर्डकाअनुसार कक्षा १० को एसईई परीक्षा पनि चैत १७ गतेदेखि सञ्चालन हुने तालिका छ। फागुन १४ देखि १७ गतेसम्म भारतको उत्तराखण्ड भ्रमणमा जान लागेको भन्दै बिदाको जानकारीसहित सो विद्यालयले    गाउँपालिकालाई एक पत्र पठाए पनि १२ गते शुक्रबारदेखि नै विद्यालय ठप्प बनाई व्यवस्थापन समितिसहित शिक्षक कर्मचारी यात्रामा निस्किएका हुन्।

विद्यालय बन्द भएकाले परीक्षाको तयारीमा बाधा पुगेको सोही विद्यालय कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले बताए।

‘अहिले कोर्ष पनि पूरा भएको छैन, झन् तयारी गराउनुपर्ने अवस्थामा विद्यालय नै बन्द गरेर हाम्रो परीक्षा र भविष्यलाई बेवास्ता गरिएको छ,’ नाम नबताउने शर्तमा उनले भने, ‘विद्यालय बन्दको कुनै लिखित सूचना छैन, मौखिक जानकारी मात्र दिइएको छ। यस विद्यालयमा विद्यार्थीको भविष्यप्रति कोही जवाफदेही देखिँदैनन्, न विद्यालय व्यवस्थापन समिति जिम्मेवार देखिन्छ न त शिक्षक नै।’

वार्षिक परीक्षाको मुखैमा शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिले विद्यालय बन्द गरी अक्षम्य गल्ती गरेको आक्रोश पोख्दै अभिभावक पारस यादवको भनाइ छ।

‘सरोकारवाला निकायले तत्काल कारबाही गरी उचित क्षतिपूर्ति भराउने व्यवस्था हुनुपर्छ,’ उनले भने।

यसबारे गाउँपालिकास्थित शिक्षा शाखा प्रमुखसित सम्पर्क हुन नसके पनि कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले विद्यालय बन्दबारे आफूलाई कुनै जानकारी नभएको बताए। -रासस

प्रकाशित: १३ फागुन २०७९ २०:४६ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast