 
                             
                                            बागलुङ- कृषि तथा पशुजन्य उत्पादन वृद्धि र बजारीकरणका लागि बागलुङको बरेङ गाउँपालिकाले किसानसँग छलफल थालेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१को नीति तथा कार्यक्रम र बजेट बनाउनअघि गाउँपालिकाका प्रतिनिधिले किसानसँग छलफल थालेका हुन्। किसानका समस्या एकातर्फ र गाउँपालिकाको बजेट तथा कार्यक्रम अर्कैतर्फ हुने गरेकाले किसानका समस्या पहिचान गर्न छलफल थालिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।
योजना निर्माण गर्नुभन्दा अघि व्यावसायिक किसानसँग पहिलो पटक छलफल गरेको अध्यक्ष शर्माको भनाइ थियो। ‘हामीले कृषि क्षेत्रमा धेरै लगानी गरिरहेका छौँ’ उनले भने, ‘त्यसको प्रगति, किसान सन्तुष्ट छन् कि छैनन् भनेर खोजी पनि गर्छौं।’
पालिकाले कल्पना गरेकाभन्दा फरक समस्या र चुनौती किसानबाट सुन्न पाएको अध्यक्ष शर्माको भनाइ छ। बीउमल चाहिने बेला सिँचाइ र सिँचाइ चाहिने बेला बीउमलको चर्चा हुने परिपाटीको अन्त्य गर्न सम्बन्धित किसानसँगै छलफल थालिएको उनको भनाइ थियो।
पालिकाले सोमबार ६३ जना व्यावसायिक किसानलाई भेला गरेर कृषि विज्ञ पनि बोलाएर छलफल गराएको थियो। प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना बागलुङ, चितवन र ललितपुरमा कार्यरत कृषिविज्ञ सुजित पौडेल, नारायण पौडेल, दीपक शर्मा, इन्द्र ढुंगाना, माधव पौडेलसँग किसानले छलफल गरेका हुन्।
किसानले उत्पादनमा एकरूपता नहुनु, बजारीकरणमा समस्या, उत्पादन समयमा बजार पुर्याउन नसक्दा लागत बढ्नु व्यावसायिक किसानका समस्या छन्। ‘हामीले उत्पादन गरेका बंगुले बजार पाउँदैनन्, बाहिरी बजारबाट आएको मासुले मूल्य घटाइदिन्छ’ किसान सन्त श्रीषले भने, ‘थोरै उत्पादन बजार नपुग्ने, एउटै किसानले धेरै उत्पादन गर्न नसक्ने समस्या छ।’
किसानले कृषिउपजको बजारीकरण सहज बनाउन सन्त श्रीषको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेका छन्। किसानले कृषिउपज संकलन केन्द्र, बजारीकरण र उत्पादन लागतमा सहयोग गर्न पालिकासाग माग गरेका छन्। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 