बंगलादेशी सरकारले किन बन्द गरायो एउटा पत्रिका?

हिमाल प्रेस ९ फागुन २०७९ १०:३४ | Tuesday, February 21, 2023
बंगलादेशी सरकारले किन बन्द गरायो एउटा पत्रिका?

बंगलादेशमा प्रमुख विपक्षी दलको पत्रिकामाथि प्रतिबन्ध लगाइएको छ। बंगलादेशको सरकारले सो पत्रिका बन्द गराएको हो। सोमबारदेखि सो पत्रिका छाप्न बन्द गरिएको छ।

पत्रपत्रिका बन्द भएपछि दक्षिण एसियामा प्रेस स्वतन्त्रतामाथि फेरि प्रश्न उठेको छ। अमेरिकालगायत धेरै देश र अभियन्ताहरूले प्रधानमन्त्री शेख हसिनाले ‘आलोचना दबाउन खोजेको’ भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘द दैनिक दिनकाल’ बंगाली भाषामा प्रकाशित हुने एउटा अखबार हो, जुन तीन दशकभन्दा बढी समयदेखि बंगलादेश नेसनलिस्ट पार्टीका पक्षमा समाचार लेख्छ। साथै सरकार समर्थित पत्रिका वा सञ्चारमाध्यमले प्रकाशित नगर्ने समाचारहरू यसमा आउने गर्थे।

केही समयअघि बंगलादेश नेसनलिस्ट पार्टीका कार्यकर्ता पक्राउ परेका थिए। पार्टीले आफ्ना समर्थकहरूविरुद्ध हजारौं झुटा मुद्दा दर्ता भएको बताएको छ।

ढाका प्रशासनले २६ डिसेम्बर २०२२ मा पत्रिका बन्द गर्ने आदेश दिएको थियो। तर, पनि पत्रिका छाप्न जारी राखेको ‘द दैनिक दिनकाल’ले जनाएको छ। प्रेस काउन्सिलको अपिलका कारण यो सम्भव भएको हो।

काउन्सिलले आइतबार अपिल खारेज गरेको पत्रिकाका प्रबन्ध सम्पादक शमसुर रहमान शिमुल विश्वासले बताए।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार पत्रिका बन्द गर्ने आदेशमा ‘द दैनिक दिनकाल’ले देशको छपाइ तथा प्रकाशनसँग सम्बन्धित कानुनको उल्लंघन गरेको लेखेको थियो। विश्वासले पत्रिका बन्द गर्नु सरकारको अभिव्यक्ति स्वतन्त्रता र आलोचकको आवाजलाई कुण्ठित गर्ने प्रयास भएको बताएका छन्।

सन् २०२२ को प्रेस स्वतन्त्रता सूचकांकमा बंगलादेश १६२ नम्बरमा थियो। -बीबीसी हिन्दीबाट

प्रकाशित: ९ फागुन २०७९ १०:३४ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast