ला लिगा : रियलसँग दूरी स्थिर राख्दै बार्सिलोना, सोसिडाडलाई पछ्याउँदै एट्लेटिको

हिमाल प्रेस ८ फागुन २०७९ १७:०४
6
SHARES
ला लिगा : रियलसँग दूरी स्थिर राख्दै बार्सिलोना, सोसिडाडलाई पछ्याउँदै एट्लेटिको

काठमाडौँ- रोबर्ट लेवान्डोस्की र सर्जी रोबर्टोले एक–एक गोल गरेपछि बार्सिलोनाले आइतबार राति काडिथलाई २–० ले पराजित गर्‍यो। यो जितसँगै बार्सिलोनाले ला लिगामा आठ अंकको अग्रता कायम गरेको छ।

ला लिगाका अन्य खेलमा एट्लटिको म्याड्रिडले एथ्लेटिको बिल्बाओमाथि १–० को जित दर्ता गर्दा सेभिया र राए भाएकानोले १–१ को बराबरी खेले। त्यसअघि रियल म्याड्रिडले ओसासुनालाई पराजित गरेर बार्सिलोनासँगको दूरी घटायो।

आउँदो बिहीबार युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको सामना गर्न लागेको बार्सिलोनाका लागि सर्जी रोबर्टो र रोबर्ट लेवान्डोस्कीले एक–एक गोल गरे। १७ औँ स्थानमा रहेको काडिथको रक्षापंक्ति तोड्न फेरान टोरेसले मुभ बनाएका थिए।

टोरेसले काडिथका तीन खेलाडीलाई छक्याउँदै निकालेको क्रसमा लेवान्डोस्कीले हेडर गरे। तर उनको हेडर जेरेमियास लेडेसेमाले पन्च गरेर बचाए। त्यसपछि रिबाउन्डमा आएको बललाई रोबर्टोले पोस्टको दिशा देखाए।

त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले गोल गरे। पोलिस स्ट्राइकरका लागि ला लिगामा यो १५ औँ गोल हो।

बार्सिलोना प्रशिक्षक जाभी हर्नान्डेजले रोबर्टोलाई मिडफिल्डमा खेलाएका थिए। प्रायजसो राइटब्याक बनेर खेल्ने रोबर्टो मिडफिल्डमा देखिनुको कारण थियो, पेड्रीको चोट। गत साता युनाइटेडसँगको खेलमा पेड्री घाइते बनेका थिए।

ला लिगामा १९ औँ जित हात पारेपछि जाभीले रोबर्टोको तारिफ गरे। नियमित कप्तान सर्जियो बुस्क्वेट्सको अनुपस्थितिमा बार्सिलोनाको कप्तानी गरेका रोबर्टोको अनावश्यक आलोचना हुने गरेको जाभीको भनाइ थियो।

‘मैले आफ्नो करियरमा रोबर्टो जत्तिको आलोचना खेप्ने अर्को खेलाडी देखेको छैन। तर म के भन्न चाहन्छु भने, रोबर्टो यो टिमका लागि महत्त्वपूर्ण खेलाडी हुन्। बार्सिलोनामै हुर्किएका उनको व्यवहार असाध्यै मिलनसार छ,’ जाभीले भनेका छन्।

बार्सिलोनाको जितमा सबैभन्दा महत्त्वपूर्ण भने टोरेस साबित भए। राइटविंगबाट खेलेका टोरेस काडिथको रक्षापंक्तिका लागि टाउको दुखाइ बनेका थिए। औसमाने डेम्बेले घाइते भएकाले टिम बाहिर हुनु र रफिन्हालाई युनाइटेडसँगको खेललाई ध्यानमा राखेर आराम दिनुले टोरेस बार्सिलोनाको पहिलो एघारमा फर्किएका थिए।

‘मैले यो सिजन त्यति धेरै खेल्न पाइरहेको छैन। मलाई थाहा छ, टिमका लागि मभन्दा महत्त्वपूर्ण अरु खलाडी छन्। तर मै मेहनत गर्न छाडेको छैन। मलाई प्रशिक्षकले पनि आत्मविश्वास दिनु भएको छ। यसकारण मौका पाएको बेला आफ्नो स्तरको खेल देखाउनु पर्छ भन्ने थाहा छ,’ टोरेसले भने।

टोरेसको प्रदर्शनले क्याम्प नौउमा उपस्थित बार्सिलोनाका समर्थक सन्तुष्ट बनेका थिए। त्यसकारण उनीहरुले टोरेसको नाममा गीत गाएका थिए। ‘समर्थकले आफ्नो नाम लिँदा अवश्य पनि खुसी लाग्छ। यसले मलाई थप मेहनत गर्न प्रेरित गरेको छ,’ टोरोसको भनाइ थियो।

एट्लेटिको म्याड्रिडले आफ्नो अपराजित यात्रालाई छैटौँ खेलसम्म पुर्‍याएको छ। एन्टोइन ग्रिजमनले ७३ औँ मिनेटमा गोल गरेपछि एट्लेटिकोले एथ्लेटिको बिल्बाओलाई हराएको हो। यो जितले एट्लेटिको र तेस्रो स्थानको रियल सोसिडाडबीचको दूरी दुई अंकमा झर्‍यो।

घरेलु मैदानमा खेल्दा पनि एट्लेटिकोले ‘अवे’ जर्सी लगाएको थियो। उता बिल्बाओ भने पारम्पारिक सेतोमा रातो धर्सा भएको जर्सीमा देखा परेको थियो।

यो सिजन बलियो लयमा रहेको राए भाएकानोले सेभियालाई १–१ को बराबरीमा रोक्यो। अर्को सिजन कम्तीमा युरोपा लिग खेल्ने लक्ष्यमा रहेको सेभियाले २९ औँ मिनेटमा अग्रता लिएको थियो। उसका लागि विंगर सुसोले गोल गरेका थिए। भाएकानोबाट भने फ्लोरियन लेजुएनेले बराबरी गोल फर्काए।

सेभियाले यसपालि ला लिगामा खराब सुरुवात गरेको थियो। सुरुका पाँच खेलमध्ये तीनमा हार व्यहोरेको सेभियाले त्यसपछि पनि स्थिर प्रदर्शन गर्न सकेको छैन। यद्यपि घरेलु मैदानमा खेलेका पछिल्ला चार खेलमा जित दर्ता गरेकाले सेभिया अंक तालिकाको मध्यभागमा छ।

प्रकाशित: ८ फागुन २०७९ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =