आफूलाई इन्स्पेक्टर बताउँदै थुनामा रहेका व्यक्ति छुटाउन रकम बार्गेनिङ गर्ने ५ पक्राउ

हिमाल प्रेस १३ मंसिर २०८३ १२:४१ | Sunday, November 29, 2026
आफूलाई इन्स्पेक्टर बताउँदै थुनामा रहेका व्यक्ति छुटाउन रकम बार्गेनिङ गर्ने ५ पक्राउ

काठमाडौँ- आफूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) बताउँदै थुनामा रहेका व्यक्ति छुटाउन २ लाख रुपैयाँ माग गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ घर भई काठमाडौँको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई कपन बस्ने २९ वर्षीय इन्द्र बहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका–६ घर भई हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेल बहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ घर भई काभ्रेको बनेपा बस्ने ३० वर्षीय हर्क सिंह भोलन रहेका छन्।

प्रहरीका अनुसार मंसिर १० गते दिउँसो करिब २ बजे एक व्यक्तिलाई सोधपुछका लागि प्रहरी प्रभाग काँडाघारीमा बोलाइएको थियो। ती व्यक्तिका भाइ दाइलाई भेट्न जाँदा सोही क्षेत्रमा रहेका आरोपितहरूले आफू प्रहरी निरीक्षक भएको बताउँदै मुद्दा नचलाई दाइलाई छुटाइदिने प्रलोभनमा २ लाख रुपैयाँ माग गरेका थिए। साथै, उनीहरूले होटलको खर्चसमेत तिर्न लगाएको खुलेको छ।

पीडितले उक्त रकम तिर्न अस्वीकार गरेपछि आरोपितहरूले फोन र म्यासेन्जरमार्फत विभिन्न धम्की दिँदै मानसिक तथा आर्थिक तनाव दिएको प्रहरीले जनाएको छ। उक्त सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित वीरेन्द्र चोकबाट पाँचै जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दान बहादुर थापाले जानकारी दिए ।

प्रकाशित: १३ मंसिर २०८३ १२:४१ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast