सुर्खेत- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने भएका छन्।
राष्ट्रिय खेलकुद परिषद्ले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यो जानकारी दिएका हुन्।
‘प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री आउनुहुन्छ,’ मन्त्री पोखरेलले भने, ‘उद्घाटनको समय भने १४ गतेपछि मात्रै थाहा हुन्छ।’
उद्घाटनमा प्रधानमन्त्री आउने पक्कापक्की भए पनि समय बिहान वा दिउँसो भन्ने विषयमा एकीन नभएको मन्त्री पोखरेलको भनाइ छ।
यसअघि प्रतियोगिता राष्ट्रपतिबाट उद्घाटन गर्ने र प्रधानमन्त्रीबाट समापन गर्ने परम्परा थियो।
यस्तै मन्त्री पोखरेलले कर्णालीमा राष्ट्रिय प्रतियोगिता गर्नु नै ठूलो उपलब्धि भएको बताए।
‘पहिले राष्ट्रिय प्रतियोगिताहरु काठमाडौँमै हुन्थे, यसपालि कम्तीमा कर्णालीमा प्रतियोगिता भएको छ,’ फुटबलको सेमिफाइनल र फाइनल किन जुम्लामा खेलाउन थालिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘जुम्लाका नागरिकलाई पनि न्याय हुनेगरी एउटा खेलको फाइनल जुम्लामा गर्नु परेको हो।’
यस्तै उद्घाटनको मुख्य स्थलमा प्राविधिक पक्ष बाहेकका अन्य प्राविधिक कामहरु पूरा भएको छ। यही मंसिर १६ गते उद्घाटन हुने प्रतियोगिताका खेलहरु मंसिर ८ गतेदेखि नै सुरु भएका छन्।
प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि आवाश व्यवस्थापनलगायतका अन्य विषयमा कुनै कमी नरहेको आयोजको दाबी छ।



