सेख हसिना।
काठमाडौँ– बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री सेख हसिना आगामी महिना एउटा अस्वाभाविक देखिने अभियानमा लाग्ने दृढतामा छिन्- मृत्युदण्डको सजाय सामना गर्न स्वदेश फर्कने।
७९ वर्षीया हसिनाले १५ वर्षसम्म बंगलादेशको नेतृत्व गरेकी थिइन्। सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनले उनको शासन अन्त्य गरिदियो र उनी भागेर भारत पुगिन्। संयुक्त राष्ट्रसंघका अनुसार आन्दोलन दमनका क्रममा एक हजार चार सय जनासम्मको ज्यान गएको घटनामा संलग्न रहेको भन्दै गत वर्ष एउटा न्यायाधिकरणले उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो।
नयाँदिल्लीमा निर्वासनको जीवन बिताइरहेकी उनी डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा गरेर फेरि आफ्नो देशको राजनीतिलाई तरङ्गित गरिरहेकी छन्। पाकिस्तानबाट सन् १९७१ मा भएको मुक्ति युद्धको अन्त्यको उत्सव मनाइने दिनलाई बंगलादेशले विजय दिवसका रूपमा मनाउँछ। उनले भनेकी छन्, ‘मेरो भाग्यमा मृत्यु नै लेखिएको छ भने म आफ्नै देशको माटोमा, आफ्नै जनताका बीचमा मर्न चाहन्छु।’
बंगलादेशमा अहिले उठेको प्रश्न हो– उनी स्वदेश फर्केर के हासिल गर्न चाहन्छिन्? हसिनापछिको पहिलो निर्वाचन जितेका तारिक रहमान नेतृत्वको नयाँ सरकारले उनको यस दृढतालाई कसरी सम्बोधन गर्नुपर्छ? बंगलादेशको राजनीतिमा फेरि अग्रस्थानमा आउने उनको चाहनालाई कसरी व्यवस्थापन गर्ने? उनको पार्टी अवामी लिग प्रतिबन्धित भए पनि त्यसले अझै केही हदसम्म जनसमर्थन जुटाउन र अशान्ति चर्काउन सक्ने अवस्था छ।
लन्डनस्थित सोआस विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक अविनाश पालिवालले भने, ‘बंगलादेशले एउटा विकल्प रोज्नुपर्नेछ– सेख हसिनालाई फेरि देश अस्थिर बनाउन दिने वा उनको स्वदेश फिर्तीलाई राष्ट्रिय मेलमिलापको सुरुवातका रूपमा उपयोग गर्ने।’
विश्वकै दोस्रो ठूलो तयारी पोसाक निर्यातकर्ता बंगलादेश पछिल्ला केही सातादेखि हिंसात्मक अशान्तिको चपेटामा छ। नयाँ सरकारले यसका लागि अवामी लिगलाई दोष दिएको छ।
तारिक रहमानका प्रवक्ता महदी अमिनले सेख हसिनाको पार्टीका सदस्यहरू ‘अराजकता फैलाउने प्रयासमा रहेको’ र ‘उनको स्वदेश फिर्तीबारे अनावश्यक प्रचार गरेर बंगलादेशलाई अस्थिर बनाउन खोजिरहेको’ बताएका छन्।
बंगलादेश सरकारले आफ्नी पूर्वप्रधानमन्त्रीलाई राहदानी दिन अस्वीकार गरेको छ। राष्ट्रिय ध्वजावाहक विमान बिमान एयरलाइन्समार्फत स्वदेश फर्कने व्यवस्था मिलाइदिन उनले गरेको आग्रहलाई स्वीकार गर्ने त कुरै भएन।
परराष्ट्र राज्यमन्त्री हुमायुन कबिरले उनी हातमा हतकडी लगाएर वा कडा निगरानीमा मात्रै फर्कन सक्ने बताएका छन्।
उनले भनेका छन्, ‘हसिना आतङ्कवादी हुन्, उनलाई कुनै पश्चात्ताप छैन। उनी भारतको सार्वभौम भूभागबाट हिंसामार्फत बंगलादेशलाई अस्थिर बनाउन खोजिरहेकी छन्। आतङ्कवादीले राहदानी पाउँदैनन्… आतङ्कवादीले व्यापारिक श्रेणीको हवाई टिकट पाउँदैनन्।’
नोबेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारका पालामा प्रतिबन्धित अवामी लिग स्रोतसाधन सम्पन्न वंशवादी राजनीतिक दल हो, जसको सम्बन्ध बंगलादेशको स्वतन्त्रता आन्दोलनसँग जोडिएको छ। सेख हसिना स्वतन्त्रता आन्दोलनका नेता सेख मुजिबुर रहमानकी छोरी हुन्।
द्वन्द्व अनुगमन गर्ने संस्था एसीएलईडीका अनुसार अवामी लिगका समर्थकहरूले यसै महिना ४० वटा प्रदर्शन र एक सय ४० भन्दा बढी दङ्गा गरेका छन्। यसले सन् २०२४ अगस्टयता राजनीतिक हिंसालाई उच्चतम स्तरमा पुर्याएको छ। त्यतिबेला भएको आन्दोलनले सेख हसिनालाई देश छाड्न बाध्य बनाएको थियो।
युनुसले आफूले स्थापना गरेको लघुवित्त संस्था ग्रामीण बैंकका झन्डै एक सय शाखामा नोभेम्बर महिनामा पेट्रोल बम प्रहार भएको बताएका छन्। अवामी लिगले भने अहिले भइरहेको अशान्तिमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
सेख हसिनाका निकट सहयोगी मोहम्मद अली अराफातले उनी ‘दुई वर्षभन्दा बढी समयदेखि आफूविना दुःख भोगिरहेका जनताका साथमा उभिन’ स्वदेश फर्कन चाहेको बताएका छन्।
उनले फाइनान्सियल टाइम्ससँग भने, ‘उनी मुद्दाको सामना गर्न र उक्त मुद्दा कसरी पूर्वाग्रही ढङ्गले सञ्चालन गरिएको छ भन्ने कुरा विश्वसामु उजागर गर्न पनि चाहन्छिन्।’ स्वेच्छाले स्वदेश फर्कन नदिन बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) नेतृत्वको सरकारले ‘प्रक्रिया, कागजात र प्राविधिक जटिलतालाई बहाना बनाइरहेको’ उनको आरोप छ।
बेलायतमा रहेका अन्तर्राष्ट्रिय कानुनका विज्ञ रेहान रसिदले भने, ‘कुनै पनि सरकारले आफ्नै देश फर्कन चाहने नागरिकलाई रोक्न सक्दैन।’ सेख हसिनाको मामिलामा ढाकाले कानुनीभन्दा राजनीतिक पक्षलाई बढी महत्त्व दिइरहेको उनको भनाइ छ।
विश्लेषकहरूका अनुसार अवामी लिगको ऐतिहासिक प्रतिद्वन्द्वी बंगलादेश नेसनलिस्ट पार्टीले नेतृत्व गरेको नवनिर्वाचित सरकारलाई अस्थिर बनाउने र आफ्नो जनाधार पुनर्जीवित गर्ने उद्देश्यले हसिनाले स्वदेश फर्कने निर्णय गरेकी हुन्।
सेख हसिना फर्किएमा उनका समर्थक र विरोधीबीच झडप हुन सक्ने जोखिम ढाकाका लागि चिन्ताको विषय बनेको छ। त्यसले सरकारलाई बल प्रयोग गरेर हस्तक्षेप गर्नुपर्ने अवस्थामा पुर्याउन सक्छ। लन्डनस्थित सोआस विश्वविद्यालयको विकास अध्ययन विभागकी प्रमुख नाओमी हुसेनको विश्वासमा अवामी लिगविना बंगलादेश सञ्चालन हुन सक्दैन भन्ने देखाउन उक्त पार्टीले खोजिरहेको छ।
यसैबीच ढाका सरकारले तयारी पोसाक उद्योगका मजदुरहरूको ज्याला वृद्धिसम्बन्धी आन्दोलन पनि व्यवस्थापन गरिरहेको छ। ती मजदुरले यसै महिना न्यूनतम ज्यालामा ३६ प्रतिशत वृद्धि गराउन सफलता पाएका छन्। यस्तो अवस्थामा सरकारले अर्को चरणको राजनीतिक हिंसा धान्न सक्ने अवस्था छैन।
एट्लान्टिक काउन्सिलका दक्षिण एसिया विज्ञ माइकल कुगलम्यानले हसिनाको स्वदेश फिर्तीले प्रतिप्रतिक्रान्ति निम्त्याउने छैन भने पनि अवामी लिगले सरकारलाई अप्ठ्यारोमा पार्ने गरी पर्याप्त जनसमर्थन परिचालन गर्न सक्ने बताएका छन्।
उनले भने, ‘हसिनालाई स्वदेश फर्कन दिइयो भने उनले आफ्ना विरोधीहरूलाई उत्तेजित पार्नेछिन्। फर्कन दिइएन वा उनले आफैँ नफर्कने निर्णय गरिन् भने उनका समर्थकहरू उत्तेजित हुनेछन्।’
सेख हसिनाका कारण भारत र बंगलादेशबीचको सम्बन्धमा पनि तनाव उत्पन्न भएको छ। ढाकाले उनलाई सुपुर्दगी गर्न नयाँदिल्लीसँग आग्रह गरेको भए पनि त्यसमा सफलता पाएको छैन। भारतीय भूमिबाट हसिनाले राजनीतिक अभिव्यक्ति दिइरहेको विषयमा पनि बंगलादेशले पटकपटक चिन्ता व्यक्त गर्दै आएको छ।
बंगलादेशको जहाँगीरनगर विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक साहब इनाम खानको विचारमा हसिनाको स्वदेश फिर्तीले द्विपक्षीय सम्बन्ध सुधार्न सहयोग पुर्याउन सक्छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यसै साता सुपुर्दगीसम्बन्धी अनुरोधलाई भारतले स्थापित प्रक्रियाअनुसार अध्ययन गरिरहेको दोहोर्याएका छन्। तर उनले यात्रा कागजातका आधारमा स्वेच्छाले आफ्नो देश फर्कन चाहने नागरिकको विषय सुपुर्दगीको विषयभन्दा अलग हो पनि भनेका छन्।
भारतका एक वरिष्ठ अधिकारीले भने, ‘उनी बंगलादेश फर्कन चाहन्छिन् भने भारतले उनलाई त्यसै हिँड्न दिनेछैन। त्यसका लागि केही सर्त, सावधानी र सुरक्षा उपाय आवश्यक पर्नेछन्। हामी उनलाई मृत्युदण्डको सजाय भोग्न पठाउने छैनौँ।’
ढाकास्थित बंगलादेश इन्स्टिच्युट अफ पिस एन्ड सेक्युरिटी स्टडिजका वरिष्ठ अनुसन्धानकर्ता सफकत मुनिरका अनुसार देशका अधिकांश मानिस, सशस्त्र बलसहित, हसिनाको शासनकाललाई पछाडि छाडेर अघि बढ्न चाहन्छन्।
मुनिरले भने, ‘उनका केही अन्धभक्त समर्थकबाहेक अधिकांश बंगलादेशी अब अगाडि बढ्न चाहन्छन्। सरकारले दृढतापूर्वक काम गर्नुपर्छ र न्याय सुनिश्चित गर्नुपर्छ।’



