रसुवा बाढीमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

हिमाल प्रेस १२ मंसिर २०८३ १०:०६ | Saturday, November 28, 2026
रसुवा बाढीमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

चितवन- गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरुको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्संकल्पमा यही मंसिर १ गतेदेखि यहाँ सञ्चालन भइरहेको अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ अन्तर्गत दिवङ्गत पितृहरुको मुक्तिको कामना गर्दै यही मंसिर २० गतेदेखि तीन दिनसम्म सो महायज्ञको आयोजना गरिएको हो।

वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजनसहित विशेष धान्याञ्चल अनुष्ठान गरिने सो महायज्ञमा दिवंगत आत्माहरूको उद्धार, मुक्ति र शान्तिको कामना गर्दै पितृमुक्ति महायज्ञ गर्न लागिएको मुक्तिनाथ बाबाले जानकारी दिए।

यस अन्तर्गत पितृहरुको सामूहिक प्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, वर्षदिन पुगेका पितृहरुको तर्पण र नारायणबलि लगायतका कार्य हुनेछन्।

स्वामी कमलनयनाचार्यले भने,‘भोटेकोशी बाढीले सबै नेपालीलाई जस्तै मलाई पनि ठूलो पीडा दिएको छ। त्यसैगरी अन्य बिपत्ति, महामारी आदिमा कैयौँ नेपालीको अकालमै ज्यान गएको छ। त्यसैले सबै दिवङ्गत आत्माहरुको मुक्ति, शान्ति र सद्गतिको कामनास्वरुप यही विराट महायज्ञमै विशेष पितृमुक्ति अनुष्ठानको संकल्प गरेका हौँ।’

सामूहिक रुपमा गरिने यस विशेष अनुष्ठानमा दिवङ्गत पितृहरुका आफन्त कर्ताका रुपमा आफैँ सहभागी भएर कर्म गर्ने तथा उक्त कार्यका लागि पितृहरुको नाम, गोत्र, तस्बिर आदि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको सो विराट महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए।

यही मंसिर १ गतेदेखि नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) मा विराट महायज्ञ सुरुहुनुअघि पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै त्यहाँ आइपुगेको थियो ।

सो विराट महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर नेपालमा वैदिक विश्वविद्यालय स्थापनाका साथै हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण गर्न, नेपालका तीर्थस्थलको प्रचार गरी नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न आयोजना गरिएको मुक्तिनाथ बाबाले जानकारी दिए। उनले यी महत्वपूर्ण धार्मिक अनुष्ठानमा प्रत्यक्ष सहभागी भएर पुण्य आर्जन गर्न पनि समस्त वैदिक सनातन धर्मावलम्बीलाई आग्रह गरेका छन्।

प्रकाशित: १२ मंसिर २०८३ १०:०६ | Saturday, November 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast