नेपाली सेना र अमेरिकी सेनाले विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान गर्ने

हिमाल प्रेस ११ मंसिर २०८३ २१:२८ | Friday, November 27, 2026
नेपाली सेना र अमेरिकी सेनाले विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान गर्ने तस्बिर एआई निर्मित

काठमाडौँ- नेपाली सेना र अमेरिकी सेनाबीच ‘शान्ति प्रयास अभ्यास-२०२६’ अन्तर्गत विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा ज्ञान तथा अनुभव आदानप्रदान हुने भएको छ।

अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञहरू यही मंसिर १४ देखि २१ गतेसम्म नेपाली सेनासँगको उक्त कार्यक्रममा सहभागी हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने कार्यक्रममा दुवै देशका सैन्य विशेषज्ञले विस्फोटक पदार्थ तथा उपकरण पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा विसर्जन गर्ने विधिबारे अनुभव साटासाट गर्नेछन्।

कार्यक्रममा अमेरिकी सैन्य विशेषज्ञहरूले कार्यसञ्चालनको अनुभव, प्राविधिक ज्ञान र उत्कृष्ट अभ्यासबारे जानकारी गराउनेछन्।

त्यसैगरी, उनीहरूले शान्ति स्थापना कार्यका क्रममा विस्फोटक पदार्थबाट उत्पन्न जोखिम व्यवस्थापनमा नेपाली सेनाले हासिल गरेको अनुभवबाट पनि सिक्ने अवसर पाउनेछन्।

दुवै देशका विशेषज्ञले संयुक्त रूपमा अभ्यास गरी विस्फोटक पदार्थजन्य जोखिम पहिचान, व्यवस्थापन र सुरक्षित विसर्जनका लागि आवश्यक सीप अभिवृद्धि गर्नेछन्।

यस कार्यक्रमले दुई देशबीचको सैन्य सहकार्य र तयारी क्षमता सुदृढ गर्नुका साथै शान्ति सैनिक तथा नागरिकको सुरक्षा गर्ने क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ।

कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले नेपाल शान्ति सैनिक योगदान गर्ने विश्वका अग्रणी मुलुकमध्ये एक रहेको उल्लेख गर्दै यस कार्यक्रमले नेपाल र अमेरिकाबीचको दीर्घकालीन रक्षा साझेदारीलाई थप मजबुत बनाउने बताइन्।

विस्फोटक पदार्थ निष्क्रिय पार्ने र हटाउने विषयमा विज्ञता आदानप्रदान गर्दा दुवै देशका साथै विश्वभरका शान्ति स्थापना अभियानमा मानवीय जीवनको रक्षा गर्ने क्षमता अभिवृद्धि हुने उनको भनाइ छ।

प्रकाशित: ११ मंसिर २०८३ २१:२८ | Friday, November 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast