रोहित शर्मा
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को सिजन सुरु हुनुअघि मुम्बई इन्डियन्सले रोहित शर्मालाई फेरि टोलीको कप्तान नियुक्त गरेको छ।
मुम्बई इन्डियन्सले शुक्रबार विज्ञप्ति निकालेर आधिकारिक रुपमा यसको घोषणा गरेको हो। यससँगै रोहित करिब तीन वर्षपछि पुनः मुम्बईको कप्तानी सम्हाल्दै मैदानमा उत्रिने भएका छन्।
पछिल्लो तीन संस्करणमा मुम्बई इन्डियन्सले हार्दिक पाण्ड्यालाई टिमको कप्तान बनाएको थियो। यद्यपि रोहित भने टिममै सहभागी थिए।
मुम्बई इन्डियन्सका मालिक आकाश अम्बानीले रोहितलाई पुनः कप्तानको जिम्मेवारी दिइएकोमा खुसी व्यक्त गरेका छन्। टोलीको २० औँ ऐतिहासिक सिजनमा रोहितले ‘ब्लू एन्ड गोल्ड’ जर्सीको नेतृत्व गर्नु सुखद पक्ष रहेको उनले बताए।
त्यस्तै निता अम्बानीले सन् २०११ मा रोहितका लागि बोलकबोल लगाएको स्मरण गर्दै त्यही क्षणदेखि उनी मुम्बई इन्डियन्स परिवारको अभिन्न अंग बनेको उल्लेख गरिन्।
यसअघि रोहितले सन् २०१३ देखि २०२३ सम्म मुम्बई इन्डियन्सको कप्तानी गरिसकेका छन्। उनको नेतृत्वमा मुम्बईले कीर्तिमानी पाँचपटक आईपीएलको उपाधि जितेको थियो। रोहितको कप्तानीले मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा च्याम्पियन बन्दै इतिहास रचेको थियो।



