सुर्खेत- विभागीय टोली त्रिभुवन आर्मी क्लब दसौँ राष्ट्रिय खेलकुद प्रतियोगीताको महिला क्रिकेटतर्फ सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।
कर्णाली आफ्नो दोस्रो हारसँगै प्रतियोगीताबाट बाहिरिएको छ। कर्णाली यसअघि कोशी प्रदेशसँग पराजित भएको थियो।
शुक्रबार वीरेन्द्रनगर रंगशालामा भएको प्रतियोगीतामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १३८ रन बनायो। महिला राष्ट्रिय टीमकी सदस्य आर्मीकी सम्झना खड्काले ५८ बल खेल्दै सर्वाधिक ६२ रन बनाइन्। उनले १० चौका प्रहार गरिन्।
यस्तै यशोदा विष्टले ३३ रन बनाउँदा कविता कुँवर ६ बलमा ११ रन बनाउँदै नटआउट रहिन्। आर्मीकी विन्दु रावलले सात तथा रुवि पोदारले पाँच रन थपिन्। आर्मीले २० रन अतिरिक्त पाएको थियो।
कर्णालीका बलर गंगा खड्का, रमा बुढाथोकी र सोना चन्द र किरणकुमारी कुँवरले एकएक विकेट लिए।
१३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै अलआउट भयो। अन्तिमतरि ब्याटिङ गर्न आएकी कर्णालीकी जयन्ती चन्दले १० रन बनाउनुबाहेक अरुले दोहोरो अंक छुन सकेनन्।
कप्तान करुणा कुमारी कुँवर ८ रन बनाएर आउट हुँदा शिखा दवाडीले ६ रन बनाइन्। यस्तै रेखा सोनीले पाँच, रविना बुढामगरले तीन तथा उमा चौधरी, श्रुती बुढा र अञ्जु गुरुङले एक–एक रन बनाइन्।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी मनीषा उपाध्यायले चार विकेट लिइन्। चार ओभर बलिङ गरेकी मनीषाले जम्मा १० रनमात्रै दिइन्।
यस्तै यमुना थारुले चार ओभर बलिङ गर्दै एक मेडनसहित तीन विकेट लिइन् भने कविता कुँवरले तीन ओभर बलिङ गर्दै दुई विकेट लिइन्।



