सुर्खेत- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णालीले पुरुषतर्फको क्रिकेटमा पहिलो जितसँगै उत्साहजनक थालनी गरेको छ। कालुन्चोक मैदानमा बिहीबार उद्घाटन खेलमा कर्णालीका विपिन रावल चम्किँदा सुदूरपश्चिमलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै कर्णालीले घरेलु दर्शकलाई पहिलो खुसी दिएको हो।
एक सय २८ रनको लक्ष्य पछ्याएको कर्णालीले विपिनले ३५ बलमा जोडेको महत्त्वपूर्ण ६० रनको योगदानमा १३ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
ओपनर दिनेश रावत गोल्डेन डक भएपछि केही धर्मराएको कर्णालीका लागि दिनेश अधिकारीले १५ र मनीष थापा तथा कप्तान रवीन्द्रजंग शाहीले समान १३-१३ रन जोडेका थिए।
टस हारे पनि पहिला ब्याटिङमा निम्ता पाएको छिमेकी टोलीले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २७ रन जोडेको थियो। सुदूरका लागि अभिषेक पालले २८ रन जोड्दा दीपक बोहराको खातामा १८ रन रह्यो। सुदूरलाई दवाबमा राखेको कर्णालीका लागि दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई-दुई विकेट लिएका थिए।



