चितवन राष्ट्रिय निकुञ्जमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थापन गरिँदै

हिमाल प्रेस ९ मंसिर २०८३ २१:३३ | Wednesday, November 25, 2026
चितवन राष्ट्रिय निकुञ्जमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थापन गरिँदै

चितवन- चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्ने भएको छ। वन्यजन्तुको आहार, बासस्थान तथा जैविक विविधता संरक्षण गर्ने उद्देश्यले घाँसे मैदान र सिमसार क्षेत्रको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको हो।

निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निर्धारित लक्ष्यमध्ये हालसम्म १२५ हेक्टर घाँसे मैदान व्यवस्थापनको काम सम्पन्न भएको छ। बाँकी क्षेत्रमा पनि व्यवस्थापनको काम अघि बढिरहेको छ।

उनले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्ने लक्ष्य रहेको र त्यसमध्ये १२५ हेक्टरको काम सम्पन्न भइसकेको बताए।

निकुञ्जभित्र रहेका ५८ भन्दा बढी प्राकृतिक तालतलैया तथा सिमसार क्षेत्रले जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। ती क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि यस वर्ष चारवटा नयाँ पोखरी निर्माण गर्ने कार्यक्रम रहेको तिवारीले बताए। तीमध्ये एउटा पोखरी निर्माण सम्पन्न भइसकेको छ भने बाँकी तीनवटा निर्माणको प्रक्रियामा छन्।

घाँसे मैदान तथा सिमसार क्षेत्रको व्यवस्थापनले वन्यजन्तुलाई आवश्यक आहार र पानीको उपलब्धता सहज बनाउनुका साथै प्राकृतिक बासस्थान संरक्षणमा सहयोग पुग्ने निकुञ्जको अपेक्षा छ। विशेषगरी एकसिङ्गे गैँडा र बाघलगायत वन्यजन्तुको संरक्षणलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएका छन्।

निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार यस वर्ष अघिल्ला वर्षको तुलनामा घाँसे मैदान व्यवस्थापनका लागि ठूलो कार्यक्रम आएको छ। करिब एक हजार ६०० देखि एक हजार ७०० हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम अघि बढाउने योजना रहेको उनले बताए।

घाँसे मैदान व्यवस्थापनसँगै वन्यजन्तु अवलोकनका लागि मचान निर्माण गर्ने योजना पनि निकुञ्जले अघि सारेको छ। निकुञ्जको पूर्वी क्षेत्र, लामिताल र सुखिभारमा मचान निर्माण गरिने पुनले बताए। उनका अनुसार लामिताल र सुखिभार क्षेत्रमा मचान निर्माणको तयारी भइरहेको छ। ती मचान तीन तलासम्मका हुनेछन्।

मचानको माथिल्लो तलामा वन्यजन्तु अवलोकनका लागि भ्यू प्वाइन्ट र तल्लो तलामा पर्यटकले आराम गर्न मिल्ने स्थान बनाउने योजना रहेको उनले बताए। एउटा मचान निर्माणका लागि करिब ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। हाल त्यसको विस्तृत लागत अनुमान तयार गर्ने काम भइरहेको छ।

मचान निर्माणसँगै पोखरी तथा वाटर होलको व्यवस्थापन गर्दा वन्यजन्तु अवलोकनको सम्भावना बढ्ने र पर्यटकलाई निश्चित स्थानमा बसेर वन्यजन्तु हेर्न सहज हुने पुनको भनाइ छ। वन्यजन्तुलाई अनावश्यक बाधा नपुग्ने गरी पर्यटकीय गतिविधि व्यवस्थित गर्ने उद्देश्यले यस्ता संरचना निर्माण गर्न लागिएको हो।

प्रकाशित: ९ मंसिर २०८३ २१:३३ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast