चितवनको भरतपुर महानगरपालिका-१५स्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला। २०८१ मंसिरसम्म १३ प्रतिशत काम सकिएको रंगशालाको हाल द्रुतगतिका साथ काम भइरहेको छ। लामो समय अलपत्रमा परेको रंगशाला भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा धमाधम निर्माण भइरहेको छ।
चितवन- नेपाल प्रिमियर लिग (एनपीएल) को चौथो संस्करण भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गर्न सकिने सम्भावना देखिएको छ। रंगशालाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेकाले फ्लडलाइट जडान गर्न सके आगामी वर्ष हुने प्रतियोगिता यहाँ सञ्चालन गर्न सकिने भएको हो।
एनपीएलको तेस्रो संस्करण सम्पन्न भएको दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठवटै क्रिकेट क्लबलाई होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेका थिए। त्यसपछि मंगलबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आठवटै क्लबका सञ्चालकसँग यस विषयमा छलफल गरेका छन्।
छलफलमा सहभागी चितवन राइनोजका अध्यक्ष आयुस न्यौपानेले मन्त्री लम्साल सकारात्मक देखिएकाले एनपीएलको चौथो संस्करण चितवनमा आयोजना हुनेमा आफू आशावादी रहेको बताए। उनका अनुसार मन्त्रीसँगको छलफलमा चितवन र मूलपानीमा आगामी वर्ष प्रतियोगिताका खेल सञ्चालन गर्न सकिने विषयमा कुराकानी भएको थियो।
रंगशालाको निर्माण केही महिनाभित्र सम्पन्न हुने भएकाले संघीय सरकारले फ्लडलाइट र आवश्यक प्राविधिक पूर्वाधारको व्यवस्था गरे खेल सञ्चालन गर्न समस्या नहुने न्यौपानेको भनाइ छ। भौगोलिक हिसाबले चितवन जनकपुर, लुम्बिनी र पोखराका क्लबका लागि पनि सहज हुने उनले बताए। प्रधानमन्त्री शाहले चितवन राइनोजको घरेलु मैदानका रूपमा गौतम बुद्ध रंगशालालाई तोकेका छन्।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले आगामी चार महिनाभित्र रंगशालाको पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार हालसम्म रंगशालाको ६८ प्रतिशत काम सकिएको छ। दुवै टावरको संरचना निर्माण सम्पन्न भइसकेको छ भने फिनिसिङको काम भइरहेको छ।
प्यारापिटमा दर्शक बस्ने सिट राख्ने काम सकिएको छ। अहिले प्यारापिट पछाडिको ढलान गर्ने तयारी भइरहेको छ। समग्रमा प्यारापिट निर्माणको ८० प्रतिशत काम सम्पन्न भएको अधिकारीले बताए।
मैदानको सबसर्फेसमा ड्रेनेज पाइप राख्ने काम सुरु भएको छ। त्यसपछि गिट्टी राखेर पिच निर्माणको काम अघि बढाइने उनले जानकारी दिए। ड्रेनेज र कम्पाउन्ड निर्माणको काम भने सम्पन्न भइसकेको छ।
पहिलो चरणको निर्माण सम्पन्न भएपछि रंगशालामा १५ हजार दर्शकले बसेर खेल हेर्न सक्नेछन्। दोस्रो चरणको निर्माण पूरा भएपछि दर्शक क्षमता बढाएर ३० हजार पुर्याउने योजना रहेको अधिकारीले बताए।
२०७५ माघ १६ गते धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएपछि रंगशाला निर्माणको प्रक्रिया अघि बढेको थियो। प्रारम्भिक निर्माणको काम २०७६ मंसिरबाट सुरु भएको थियो। आर्थिक स्रोत जुटाउन नसकेपछि फाउन्डेसनले २०७८ सालमा निर्माण कार्य रोकेको थियो।
पछि फाउन्डेसनले रंगशालाको स्वामित्व महानगरपालिकालाई हस्तान्तरण गरेपछि पहिलो चरणको निर्माणका लागि २०८१ असार २४ गते हिमालयन जेभीसँग ठेक्का सम्झौता भएको थियो। ३० महिनाको समयसीमा राखेर गरिएको सम्झौताको अवधि यही पुस २७ गते सकिँदै छ। कार्यवाहक प्रमुख अधिकारीले त्यसको थप दुई महिनाभित्र निर्माण सम्पन्न हुने अनुमान रहेको बताए।
रंगशाला निर्माणको सुरुको सम्झौता रकम ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ रहेकामा अहिले बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ। दोस्रो चरणको कामसमेत सम्पन्न गर्न फ्लडलाइटबाहेक सिभिल निर्माणका लागि करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको अधिकारीले बताए।
उनका अनुसार संघीय सरकारले थप पूर्वाधार निर्माण र फ्लडलाइट जडानमा सहयोग गरे आगामी एनपीएल यहीँ आयोजना गर्न सकिनेछ। भौगोलिक अवस्थिति उपयुक्त भएकाले भविष्यमा भारत र पाकिस्तानका खेलसमेत यहाँ सञ्चालन गर्न सकिने उनको भनाइ छ।
बागमती प्रदेशका क्रिकेट निर्देशक अनिल अधिकारीले पनि एनपिएलको चौथो संस्करण भरतपुरमै आयोजना गर्नुपर्ने बताए। सरकार सकारात्मक रहेकाले प्रतियोगिता यहाँ हुनेमा आफू विश्वस्त रहेको उनले बताए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको दर्शक क्षमता १० हजार मात्रै रहेको उल्लेख गर्दै अधिकारीले गौतम बुद्ध रंगशालाको पहिलो चरणको काम सकिँदा १५ हजार र दोस्रो चरणपछि ३० हजार दर्शक अट्ने भएकाले यो उपयुक्त मैदान हुने बताए।
‘त्रिवि रंगशालामा नौ महिनाभित्र सिट र फ्लडलाइट जडान गर्न सकिएको थियो। यहाँ हामीसँग ११ महिना समय छ, त्यसैले किन सकिँदैन?, उनले भने।
गौतम बुद्ध रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने अधिकारीको भनाइ छ। त्रिवि क्रिकेट रंगशालामा सातवटा पिच रहेकामा यहाँ पाँचवटा पिच बनाउन सकिने उनले बताए। तराईका जिल्लाका खेलाडीका लागि पनि भरतपुर उपयुक्त हुने उनको धारणा छ।
चितवन जिल्ला क्रिकेट संघका सचिव सुरज ज्ञवालीले मापदण्डअनुसार रंगशाला निर्माण भइरहेकाले एनपीएलको चौथो संस्करण आयोजना गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए। सरकार सकारात्मक रहेकाले प्रतियोगिता चितवनमा आयोजना हुनेमा आफूहरू विश्वस्त रहेको उनले बताए।
भरतपुरबाट पोखरा, लुम्बिनी र जनकपुरका क्लबलाई आवतजावत गर्न सहज हुने भएकाले पनि यो स्थान उपयुक्त रहेको ज्ञवालीको भनाइ छ। खेलाडी तथा दर्शकका लागि जिल्लामा पर्याप्त होटल सुविधा रहेको र खेलबाहेकको समयमा चितवन राष्ट्रिय निकुञ्जलगायत पर्यटकीयस्थल घुम्न सकिने भएकाले प्रतियोगिताले खेल पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।



