कांग्रेस देउवा समूह : महाधिवेशन तयारी समिति गठनको जिम्मेवारी डा. शशांकलाई

हिमाल प्रेस ९ मंसिर २०८३ १६:५४ | Wednesday, November 25, 2026
कांग्रेस देउवा समूह : महाधिवेशन तयारी समिति गठनको जिम्मेवारी डा. शशांकलाई

काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ।

देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा बुधबार बसेको शीर्ष नेता, पदाधिकारी, भातृ तथा शुभेच्छुकलगायतको बैठकले १५ औँ महाधिवेशनको तयारीका लागि समिति गठनको जिम्मा संयोजक कोइरालालाई दिने निर्णय गरेको कांग्रेस नेता जितजंग बस्नेतले जानकारी दिएका हुन्।

महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन समिति, स्वयंसेवक समिति र मञ्च व्यवस्थापन समितिलगायत करिब १५-२० वटा समिति गठन गर्नुपर्ने भएकाले समिति गठन गर्ने सम्पूर्ण अधिकार महाधिवेशन संयोजक कोइरालालाई दिइएको हो। संयोजकले बिहीबारसम्म निर्णय गरेपछि संयोजकहरू तोकिने र त्यसपछि उनीहरूले आफ्नो कमिटीमा सदस्य राखेर महाधिवेशनका काम अघि बढाउनेछ। बस्नेतले आफूहरू नै आधिकारिक कांग्रेस रहेको भन्दै कारबाही गर्ने अधिकार कसैलाई नरहेको धारणा राखे।

कांग्रेस नेता कुन्दनराज काफ्लेले आफु रुख चिह्नबाट निर्वाचित प्रदेश सभा सांसद रहिसकेको उल्लेख गर्दै आफूलाई कांग्रेस होइन भनेर कारबाही गर्ने क्षमता कसैसँग नरहेको बताए। आफूहरूले चौधौँ महाधिवेशनकै जगबाट महाधिवेशनको तयारी गरेकाले कारबाही गर्नुपर्ने कुनै आधार नरहेको उनको भनाइ छ।
कांग्रेसको देउवा समूहले मंसिर २१, २२ र २३ गते नियमित भन्दै १५ औँ महाधिवेशनको तयारी गरिरहेको छ।

प्रकाशित: ९ मंसिर २०८३ १६:५४ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast