महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस

विश्वमा प्रत्येक १० मिनेटमा निकटस्थबाटै महिलाको हत्या हुने गरेको तथ्य सार्वजनिक

हिमाल प्रेस ९ मंसिर २०८३ ७:०९ | Wednesday, November 25, 2026
विश्वमा प्रत्येक १० मिनेटमा निकटस्थबाटै महिलाको हत्या हुने गरेको तथ्य सार्वजनिक फाइल तस्बिर।

काठमाडौँ- आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लङ्घनको व्यापक स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ ।

विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो । यो सङ्ख्या दैनिक औसत १३७ हो ।

महिला तथा बालिकामाथि हुने हिंसाका विभिन्न स्वरूपमध्ये हत्या सबैभन्दा चरम अवस्था हो । उनीहरूमाथि हुने हिंसा प्रायः लामो समयदेखिको दुव्र्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिएको प्रतिवेदनले औँल्याएको छ ।

महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय समुदायले विभिन्न कानुनी तथा नीतिगत प्रयास गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसैगरी, सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो ।

महिला अधिकारकर्मीले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन् । सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको घटनाको स्मरणमा यो दिन छनोट गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरी नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको हो । त्यसयता सदस्य राष्ट्र, अन्तरराष्ट्रिय संस्था र गैरसरकारी संस्थालाई यस दिन चेतनामूलक कार्यक्रम आयोजना गर्न आह्वान गरिँदै आएको छ ।

आजैदेखि डिसेम्बर १० अर्थात् मानव अधिकार दिवससम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सञ्चालन गरिन्छ । अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज र समुदायको सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्दै आएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा सबै देश र समुदायलाई प्रभावित पार्ने विश्वव्यापी लज्जाको विषय भएको उल्लेख गर्दै यसको अन्त्यका लागि न्याय सुनिश्चित गर्न र रोकथामका प्रयासलाई तीव्र बनाउन आह्वान गरे ।

यस दिवसका अवसरमा जारी सन्देशमा उनले हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आश्रयको व्यवस्था गर्न तथा हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गरे ।

यसै अवसरमा राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले हिंसापीडित महिलालाई संरक्षण र न्याय उपलब्ध गराउन तथा दोषीलाई जवाफदेही बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

प्रकाशित: ९ मंसिर २०८३ ७:०९ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast