प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेपछि प्रधानमन्त्री वालेन्द्र शाहसँग हात मिलाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले। तस्बिर : रासस
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत महिला उद्यमशीलता, सुरक्षित सार्वजनिक यातायात, स्वास्थ्य सेवा र मातृ सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले महिलाको आर्थिक सशक्तीकरणदेखि स्वास्थ्य सुरक्षासम्म केन्द्रित योजनाहरू अघि सारेका हुन्।
सरकारले पाँचखाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिने घोषणा गरेको छ। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गरिने बजेट वक्तव्यमा उल्लेख छ। साथै स्थानीय तहमा महिला उद्यमशीलता विकासका लागि जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ।
महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसीटीभीसहितको आधुनिक ‘ब्लु बस’ सेवा सञ्चालन गरिने सरकारले जनाएको छ। यसलाई महिला सुरक्षासँग जोडिएको नयाँ कार्यक्रमका रूपमा हेरिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनाएको घोषणा गरेको छ। महिला स्वास्थ्य स्वयंसेविकालाई दिइँदै आएको यातायात खर्चमा पनि ५० प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले बताए।
दुर्गम क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धारका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ। मातृ तथा शिशु मृत्युदर न्यूनीकरणका लागि यो कार्यक्रम प्रभावकारी हुने सरकारको अपेक्षा छ।
बजेट वक्तव्यअनुसार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका कार्यक्रमका लागि कुल दुई अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको छ।




