काठमाडौँ- चलचित्र विधेयक, २०८१ माथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा सांसदहरूले चलचित्र सेन्सर, वर्गीकरण, अभिव्यक्ति स्वतन्त्रता, लैंगिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व, चलचित्र विकास बोर्डको स्वायत्तता र संघ, प्रदेश तथा स्थानीय तहको अधिकार बाँडफाँटलगायतमा संशोधन तथा सुझाव दिएका छन्।
मंगलबार सिंहदरबारस्थित कानुन समिति कक्षमा बसेको समितिको बैठकमा सभापति डा.ओजस्वी शेरचनले विधेयकमाथि संशोधन प्रस्ताव राख्ने सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिइन्।
बैठकमा सभापति शेरचनले चलचित्र विधेयक निर्माण गर्दा विशेषगरी सेन्सर र चलचित्र वर्गीकरण तथा तीन तहका सरकारबीचको अधिकार बाँडफाँटमा स्पष्टता आवश्यक रहेको बताइन्।
उनले भनिन्,‘स्थानीय तह, प्रदेश र संघीय सरकारले चलचित्र क्षेत्रलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा अधिकारको बाँडफाँट स्पष्ट हुनुपर्छ। स्पष्टता नभए भोलिका दिनमा झन् झन्झट र टकरावको अवस्था आउन सक्छ।’
विधेयकलाई प्रभावकारी बनाउन सांसदहरूलाई संशोधनसहित विधेयक अध्ययन गरेर छलफलमा सहभागी हुन उनको आग्रह थियो। उनले भनिन्,‘सबै माननीयज्यूहरूले विधेयक पढेर आउनुहोला ताकि दफावार छलफल गर्दा पछाडिको विषय फेरि दोहोरिने अवस्था नआओस् र छलफललाई तीव्र गतिमा अगाडि बढाउन सकियोस्।’
उनले चलचित्र क्षेत्रको विकास, अर्थतन्त्रमा योगदान र सिर्जनात्मक स्वतन्त्रतालाई सन्तुलित ढंगले सम्बोधन गरेर विधेयक अघि बढाउनुपर्नेमा जोड दिइन्।
बैठकमा सांसद भूमिका श्रेष्ठले चलचित्रमा लैंगिक तथा अल्पसंख्यक समुदायलाई हासोको पात्र बनाउने प्रवृत्ति रोक्न कानुनी व्यवस्था गर्नुपर्ने बताइन्। उनले अपमानजनक शब्द तथा प्रस्तुतिमाथि सेन्सर लगाउनुपर्ने र नेपाली भाषासँगै विभिन्न जातजाति तथा समुदायका भाषालाई पनि चलचित्रमार्फत संरक्षण गर्नुपर्ने धारणा राखिन्।
सांसद सुशीला ढकाल आचार्यले पाठ्यक्रममा चलचित्रलाई समावेश गरी यसलाई आयमूलक क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताइन्।
सांसद गणेशबहादुर विश्वकर्माले विधेयक पुनर्लेखन गर्नुपर्ने धारणा राख्दै राष्ट्रिय सभा विधायन समितिको प्रतिवेदनअनुसार अघि बढ्नुपर्ने बताए। उनले चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउनुपर्नेमा पनि जोड दिए।
सांसद कमल सुवेदीले मौलिक पहिचान बोकेका चलचित्र र करोडौँ कमाउने व्यावसायिक चलचित्रलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए।
चलचित्र सेन्सरलाई बहुआयामिक रूपमा हेर्नुपर्ने उल्लेख गर्दै उनले सेन्सरका नाममा अभिव्यक्ति स्वतन्त्रता र प्रचलित कानुनलाई बेवास्ता गर्न नहुने धारणा राखे। उनले संघ, प्रदेश र स्थानीय तहबीच चलचित्र क्षेत्रको अधिकार क्षेत्र स्पष्ट पार्नुपर्ने पनि बताए।
सांसद प्रकाशचन्द्र परियारले चलचित्र पाइरेसी र विदेशी लगानीका विषयमा बृहत् छलफल गर्नुपर्ने बताए। सिर्जनात्मक चलचित्र क्षेत्रमा शैक्षिक योग्यताभन्दा अनुभव र क्षमतालाई प्राथमिकता दिनुपर्ने उनको आशय थियो।
सांसद शुलभ खरेलले चलचित्र सेन्सरको व्यवस्थालाई संवैधानिक रूपमा औचित्यपूर्ण बनाउनुपर्ने बताए। प्रदेशको भूमिकालाई विधेयकमा पर्याप्त स्थान नदिइएको उल्लेख गर्दै उनले चलचित्र क्षेत्रमा प्रदेशको अधिकार विस्तार गर्नुपर्ने धारणा राखे।
त्यस्तै, सांसद पार्वती विकले चलचित्रले समाजमा पार्ने प्रभावलाई ध्यान दिनुपर्ने बताइन्। संस्कृतिको संरक्षणका नाममा समाजका कुप्रथा र गलत अभ्यासलाई प्रोत्साहन गर्न नहुने उनको भनाइ थियो। ‘निर्माताले व्यापार देख्लान् तर त्यसले समाजलाई के सन्देश दिन्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन्।
बैठकमा सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले चलचित्र सेन्सर र वर्गीकरणबीचको अन्तर स्पष्ट पारेर मात्र कानुनी व्यवस्था गर्नुपर्ने बताए।
उनले नेपालमा विगतमा रहेको व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास तथा सेन्सर र वर्गीकरणका सकारात्मक तथा नकारात्मक पक्षबारे गहन अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने बताए।
‘सेन्सर गर्नु हुँदैन पनि भन्ने, वर्गीकरण गर्नुपर्छ पनि भन्ने अनि फेरि सेन्सरको महत्त्वबाट टुङ्ग्याउने अवस्था देखिएको छ। त्यसैले हाइब्रिड मोडल हुन सक्छ भने त्यसबारे पनि कल्पना गरौँ,’ उनले भने।
उनका अनुसार सेन्सर र वर्गीकरण फरक अवधारणा हुन्। वर्गीकरणले कुन उमेर समूहका दर्शकका लागि कुन चलचित्र उपयुक्त छ भन्ने निर्धारण गर्छ भने सेन्सरले निश्चित सामग्रीमाथि नियन्त्रण वा रोक लगाउने अभ्यासलाई जनाउँछ।
उनले अमेरिका, भारत, अस्ट्रेलिया र बेलायतका अभ्यासको उदाहरण दिँदै नेपालले आफ्नो सामाजिक परिवेशअनुकूल व्यवस्था छनोट गर्नुपर्ने बताए।
तिमिल्सिनाले चलचित्रलाई कला, अभिव्यक्ति स्वतन्त्रताको माध्यम, सामाजिक सन्देश दिने सामग्री, यथार्थ चित्रण वा मनोरञ्जनमध्ये कुन रूपमा बुझ्ने भन्ने विषयले पनि कानुनी व्यवस्थाको स्वरूप निर्धारण गर्ने बताए।
उनले भने,‘चलचित्र एउटा साहित्यिक र कलात्मक सिर्जना हो भने कलाकार र लेखकलाई कुन तहसम्म स्वतन्त्रता दिने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। राजनीतिज्ञ वा कानुनले तैँले यो लेख्न पाउँछस्, तैँले यो लेख्न पाउँदैनस् भनेर सबै कुरा निर्धारण गर्न मिल्दैन।’
तर जातीय तथा सामुदायिक अपमानजस्ता विषयलाई कसरी सम्बोधन गर्ने भन्नेमा स्पष्ट कानुनी मापदण्ड आवश्यक रहेको उनको भनाइ थियो।
डा.तिमिल्सिनाले चलचित्र विकास बोर्डको अध्यक्षको योग्यता निर्धारण गर्नुअघि बोर्डको उद्देश्य र अध्यक्षको जिम्मेवारी स्पष्ट पार्नुपर्ने बताए।
बोर्डको अध्यक्ष सिर्जनात्मक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्ने पद हो वा संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने व्यवस्थापक नियुक्त गर्ने कार्यकारी पद हो भन्ने विषयमा स्पष्ट हुनुपर्ने उनको सुझाव थियो।
उनले भने,‘बोर्डको अध्यक्षको काम के हो भन्ने कुरा पहिला सोच्नुपर्यो। कसैलाई सम्मान गर्नका लागि दिग्गज व्यक्तित्वलाई राख्ने हो कि यो क्षेत्रलाई उचाल्न सक्ने एकदमै राम्रो व्यवस्थापक ल्याउने ठाउँ हो?’
बोर्ड र एकेडेमीको भूमिका पनि फरक हुनुपर्ने उल्लेख गर्दै उनले अध्यक्षको कार्यकारी जिम्मेवारी कसले निर्वाह गर्ने भन्ने विषयसमेत स्पष्ट पार्नुपर्ने बताए।
उनका अनुसार संस्थाको नेतृत्वलाई प्रभावकारी बनाउन अधिकार, जिम्मेवारी र कार्यक्षमताको सुनिश्चितता आवश्यक छ। चलचित्र क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहको अधिकार बाँडफाँटबारे पनि तिमिल्सिनाले विशेष जोड दिए।
प्रदेशको अधिकार कटौती गर्न नहुने र सबै अधिकार केन्द्रमा राख्ने प्रवृत्ति देखिन नहुने उनको भनाइ थियो। तर संघीयताको नाममा स्पष्ट जिम्मेवारीबिना अधिकार बाँडफाँट गर्दा संस्थाहरूबीच समन्वयको अभाव र अन्योल सिर्जना हुन सक्ने उनले बताए।
‘हामीले केही न केही अधिकार दिनैपर्छ भनेर मात्रै कानुन बनाउन थाल्यौँ भने ठूलो दुर्घटनामा पर्न सक्छौँ। अधिकार बाँड्दा एउटा निकायले अर्कोलाई हेर्ने र अर्कोले फेरि अर्कोलाई हेर्ने अवस्था आउन सक्छ,’ उनले भने। संघ, प्रदेश र स्थानीय तहले एकअर्काका परिपूरक भएर काम गर्ने गरी अधिकार तथा जिम्मेवारी निर्धारण गर्नुपर्ने उनको सुझाव थियो।
उनले चलचित्र क्षेत्रको विकासका लागि तीनै तहका सरकारले आआफ्नो जिम्मेवारी र जवाफदेहिताका आधारमा योगदान गर्नुपर्ने बताए।



