काठमाडौँ- मधेशका विभिन्न दलबाट छुट्टिएका नेताहरूले गठन गरेको हुँकार मधेश अभियानले नयाँ कार्यक्रम अघि सारेको छ। पुराना दलमा पुस्तान्तरणमा समस्या भएको भन्दै मधेश बदल्ने योजनासहित खुलेको यो अभियानले ज्ञापनपत्र बुझाउनेदेखि राजमार्ग यात्रा गर्नेसम्मका कार्यक्रम तय गरेको छ।
हुँकार मधेशका संयोजक रामकुमार शर्माका अनुसार हुलाकी यात्रा गर्ने भएको छ । मंसिर १० गतेदेखि सुरु हुने यात्राअघि हुँकार मधेशले भोलि प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।
समय पाए उनलाई नै ज्ञापनपत्र बुझाउने र नभए सचिवालयलाई दिने उनले बताए । सचिवालयले पनि समय नदिए जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत ज्ञापनपत्र बुझाउने उनले जानकारी दिए । पहिलो चरणमा मंसिर १० गतेदेखि पुस ७ गतेसम्म मधेश प्रदेशका आठ जिल्लाको यात्रा गरिने बताए ।
दोस्रो चरणको यात्रा सुरु गर्नुअघि पहिलो चरणको समीक्षा गर्न पुस १० गते समीक्षा बैठक बस्नेछ । त्यसपछि पुस १७ गतेदेखि चितवनबाट यात्रा सुरु हुनेछ । दोस्रो चरणको यात्रा पुस २९ गते कञ्चनपुर पुगेर सम्पन्न हुनेछ ।
तेस्रो चरणको यात्रा सुरु गर्नुअघि दोस्रो चरणको यात्राको समीक्षा गर्न माघ ३ गते बैठक बस्नेछ । माघ ५ गते सिरहाको लहानमा बलिदान दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने छ।
माघ ५ गतेदेखि झापा, माघ ७ देखि ९ गतेसम्म मोरङ, माघ ९ देखि १० गतेसम्म सुनसरी र माघ १० देखि ११ गतेसम्म उदयपुरको यात्रा गरिने बताइएको छ । त्यस्तै, काठमाडौँ उपत्यकाको यात्रा माघ १२ गतेदेखि १५ गतेसम्म गरिनेछ ।



