काठमाडौँलाई सुरक्षित र बस्नयोग्य सहरका रूपमा विकास गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस ७ मंसिर २०८३ १३:२८ | Monday, November 23, 2026
काठमाडौँलाई सुरक्षित र बस्नयोग्य सहरका रूपमा विकास गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई सफा बनाई काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘काठमाडौँ जलवायु कार्य सप्ताह’ लाई आज सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं ८ का सांसदसमेत रहनुभएका मन्त्री श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्यावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट ठोस कार्ययोजना सार्वजनिक गरिएको जानकारी दिए।

उनले जथाभावी कङ्क्रिटका संरचना बन्दा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको तथा वर्षाको पानी सोस्ने जमिन नहुँदा बाढीको जोखिम बढेको बताए। धुलो–धुवाँले शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदाको अवस्था बिग्रँदै गएको उहाँको भनाइ थियो ।

जलवायु परिवर्तनले सङ्कट अझ थपेको बताउँदै श्रेष्ठले केही दिनको अवधिमा विभिन्न नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताए।

पछिल्ला चार वर्षमा लोप हुन लागेका पुराना ढुङ्गेधारा ९हिटी० र राजकुलो ब्युँताएर भूमिगत जलभण्डार जोगाउन भूमिका खेलेकामा काठमाडौँ महानगरपालिका, कार्यवाहक प्रमुख र वडा अध्यक्षको उहाँले प्रशंसा गरे।

उनका अनुसार बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली जडान गरिने, बाढी आउनुअघि नै वडा र घरपरिवारले जानकारी पाउन सकून् भनेर जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढी मोडलिङ र पूर्वसूचना प्रणालीमा महानगर तथा अन्य सहरसँग सहकार्य गर्ने योजना अगाडि सारिएको जानकारी दिए।

मन्त्री श्रेष्ठले रूखै–रूखले भरिएका शीतल सडक, १५ मिनेटमै हिँडेर पुग्न सकिने ऐतिहासिक टोल र बहाल, चोरी भएका मूर्ति फिर्ता, साइकल लेन र चराचुरुङ्गीको चिरबिरसहितको सफा बागमती–विष्णुमती करिडोर, काठमाडौँ वरिपरिका जङ्गल र राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलनको परिकल्पना गरिएको बताए।

पार्कमा ज्येष्ठ नागरिकले घाम ताप्न, चोकमा बालबालिकाले सुरक्षित खेल्न र हरियालीयुक्त आधुनिक व्यावसायिक केन्द्र सञ्चालन गर्न सकिने उल्लेख गर्दै उहाँले सुन्दर काठमाडौँ निर्माणमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायतको उपस्थिति थियो ।

प्रकाशित: ७ मंसिर २०८३ १३:२८ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast