काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी, संयुक्त उद्यम तथा व्यावसायिक सहकार्यका अवसर उपयोग गरी साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन आह्वान गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विदेश भ्रमणका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) को संयुक्त आयोजनामा नयाँ दिल्लीमा आयोजित नेपाल–भारत आर्थिक तथा व्यावसायिक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल–भारत सम्बन्धलाई अब व्यापार, लगानी र आर्थिक सहकार्यका माध्यमबाट नयाँ उचाइमा पुर्याउनुपर्ने बताए।
उनले नेपालमा भारतीय निजी क्षेत्रको लगानी वृद्धि गर्न तथा दुई देशबीचको व्यापारमा रहेका अवरोध हटाउन भारतीय उद्योगी व्यवसायीलाई आग्रह समेत गरे। भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको प्रमुख स्रोत रहेको उल्लेख गर्दै उनले गत वर्ष दुई देशबीच करिब ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको, नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी भारततर्फ हुने गरेको तथा नेपालको कुल वैदेशिक प्रत्यक्ष लगानीमा भारतीय लगानीको हिस्सा करिब एकतिहाइ रहेको जानकारी दिए।
नेपालले गत वर्ष भारत र बंगलादेशमा विद्युत् बिक्री गरी २९ अर्ब रुपैयाँ आम्दानी गरेको र अघिल्लो वर्षको तुलनामा यस्तो आम्दानी ६८ प्रतिशतले वृद्धि भएको उनले बताए। ‘यति घनिष्ठ आर्थिक सम्बन्ध हुँदाहुँदै पनि नेपालमा भारतीय निजी क्षेत्रको लगानी अपेक्षाअनुसार आउन सकेको छैन् । नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले नीतिगत तथा कानुनी
सुधार अघि बढाएको छ । विदेशी लगानीका लागि १०२ उद्योगमा स्वचालित स्वीकृतिको व्यवस्था र एकद्वार सेवा केन्द्र सञ्चालन गरिएको छ । त्यसैले लगानीका लागि यहाँहरुलाई आव्हन गर्दछौं।” उनले भने।



