देवघाटधामको प्रचारप्रसारका लागि गण्डकी परिक्रमा महोत्सव सुरु हुँदै

हिमाल प्रेस ७ मंसिर २०८३ ६:५४ | Monday, November 23, 2026
देवघाटधामको प्रचारप्रसारका लागि गण्डकी परिक्रमा महोत्सव सुरु हुँदै

तनहुँ- प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आज मङ्सिर ७ गतेदेखि गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ। त्यस क्षेत्रको धार्मिक महत्व र भौतिक विकासलाई संवर्द्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए।

नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वयमा गण्डकी परिक्रमा महोत्सव सञ्चालन गरिएको हो। देवघाटधामको पूर्ण परिक्रमा गर्ने गरी तय गरिएको २६ किलोमिटर लामो पदयात्रा महोत्सवमा विगतदेखि नै व्यापक जनसहभागिता रहँदै आएको छ।

देवघाटधामको बेणी सङ्गमबाट सुरु हुने उक्त गण्डकी परिक्रमा यात्राअन्तर्गत तनहुँतर्फ पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पाञ्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दिर, लक्ष्मीनारायण मन्दिर तथा देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिर)को परिक्रमा गरिनेछ।

त्यसैगरी, चितवनतर्फ देवघाट बसपार्कको सङ्कल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरिनाथ गौशाला बागेश्वरी मन्दिर, आँपटारी दियालो बङ्गाल चोक, गणेशस्थान, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखरा बसपार्क, राजयोग सेवा केन्द्र नारायणगढ, हरिहर मन्दिर नारायणगढ र श्रीराम मन्दिर पुल्चोकको परिक्रमा हुनेछ।

यस्तै, नवलपुरतर्फ गैँडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिव्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आएर यात्रा समापन हुने कार्यक्रम रहेको छ। महोत्सवको पूर्वसन्ध्यामा आइतबार देवघाटमा मोटरसाइकल र्यायली निकालिएको थियो।

प्रकाशित: ७ मंसिर २०८३ ६:५४ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast