भोजपुर- जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले किसानलाई प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउन लागेको छ ।
कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक तथा जैविक खेती प्रणालीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित गाउँपालिकाले अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
सोही क्रममा गाउँपालिकाले स्थानीयस्तरमा सूचीकृत मल उत्पादक फार्म, समूह, सहकारी वा कम्पनीबाट मात्रै मल खरिद गर्नुपर्ने व्यवस्था गरेको छ । किसानले अनुदानमा मल खरिद गर्दा प्रतिकेजी १० रुपैयाँ ५० पैसाका दरले रकम जम्मा गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए ।
उनका अनुसार प्राङ्गारिक मल प्रयोग गरी व्यावसायिक रूपमा खेती गर्दै आएका किसानलाई कार्यक्रममा प्राथमिकता दिइनेछ । अनुदान कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र लक्षित वर्गसम्म पुर्याउन सूचीकृत उत्पादकबाट मल खरिद गर्ने व्यवस्था गरिएको उनले बताए ।
त्यस कार्यक्रममा सहभागी हुन इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले मलको प्रकार र आवश्यक परिमाण खुलाएर गाउँपालिकामा निवेदन पेस गर्नुपर्नेछ ।
कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै माटोको उर्वराशक्ति संरक्षण, वातावरणमैत्री कृषि प्रणालीको विकास तथा प्राङ्गारिक खेतीको विस्तार गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन् ।
उनले कृषि क्षेत्रमा दीर्घकालीन सुधार ल्याउन किसानलाई प्राङ्गारिक तथा जैविक खेतीप्रति आकर्षित गर्न आवश्यक रहेको बताइन् । “कृषिलाई उत्पादन र आयआर्जनसँग जोड्न खेती गर्ने तरिकामा पनि सुधार आवश्यक छ,” उपाध्यक्ष राईले भनिन्, “प्राङ्गारिक मलको प्रयोग बढाएर कृषि उत्पादनलाई गुणस्तरीयसँगै वातावरणमैत्री खेती प्रणालीको विकास गर्ने हाम्रो लक्ष्य हो ।”
गाउँपालिकाले कृषि क्षेत्रको विकाससँगै किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । प्राङ्गारिक तथा जैविक खेतीको विस्तारले माटोको उर्वराशक्ति संरक्षणमा सहयोग पुग्नाका साथै स्थानीय कृषि उत्पादनको पहिचान र प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।



