टेम्केमैयुङ गाउँपालिकाको निर्णय : प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान

हिमाल प्रेस ६ मंसिर २०८३ १०:२० | Sunday, November 22, 2026
2
SHARE
टेम्केमैयुङ गाउँपालिकाको निर्णय : प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान

भोजपुर- जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले किसानलाई प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउन लागेको छ ।

कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक तथा जैविक खेती प्रणालीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित गाउँपालिकाले अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाको कृषि विकास शाखामार्फत आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअन्तर्गत प्राङ्गारिक खेती प्रवद्र्धनका लागि प्राङ्गारिक तथा जैविक मल अनुदान कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ ।
कार्यक्रममार्फत किसानलाई प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराइने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
प्राङ्गारिक तथा जैविक खेती गर्न इच्छुक किसानलाई लक्षित गरी कार्यक्रम ल्याइएको उनले बताए । पछिल्लो समय कृषि उत्पादनमा रासायनिक मलको प्रयोग बढ्दै गएको अवस्थामा माटोको गुणस्तर कायम राख्दै खेती प्रणालीलाई दिगो बनाउन प्राङ्गारिक मलको प्रयोग बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
“किसानलाई प्राङ्गारिक तथा जैविक खेतीतर्फ आकर्षित गर्दै स्थानीयस्तरमा यसको विस्तार गर्ने उद्देश्यले कार्यक्रम ल्याएका हौँ,” अध्यक्ष बस्नेतले भने, “प्राङ्गारिक खेती गर्दै आएका किसानलाई थप प्रोत्साहन गर्दै नयाँ किसानलाई पनि यसतर्फ आकर्षित गर्न अनुदान कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” कार्यक्रमबाट व्यावसायिक रूपमा प्राङ्गारिक खेती गर्दै आएका तथा खेती विस्तार गर्न चाहने किसान, कृषि फार्म, समूह र सहकारी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै किसानलाई उत्पादनसँग जोड्ने र उपलब्ध स्रोतसाधनको उपयोग गरी खेती प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले प्राङ्गारिक खेतीलाई व्यावसायिक र उत्पादनमुखी बनाउने उद्देश्यले किसानलाई मल खरिदमा सहुलियत दिन लागेको जनाएको छ । मलको सहज उपलब्धता र प्रयोगमा प्रोत्साहन मिल्दा किसानलाई खेती प्रणाली सुधार गर्न तथा उत्पादनलाई दिगो बनाउन सहयोग पुग्ने गाउँपालिकाको भनाइ छ ।

सोही क्रममा गाउँपालिकाले स्थानीयस्तरमा सूचीकृत मल उत्पादक फार्म, समूह, सहकारी वा कम्पनीबाट मात्रै मल खरिद गर्नुपर्ने व्यवस्था गरेको छ । किसानले अनुदानमा मल खरिद गर्दा प्रतिकेजी १० रुपैयाँ ५० पैसाका दरले रकम जम्मा गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए ।

उनका अनुसार प्राङ्गारिक मल प्रयोग गरी व्यावसायिक रूपमा खेती गर्दै आएका किसानलाई कार्यक्रममा प्राथमिकता दिइनेछ । अनुदान कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र लक्षित वर्गसम्म पुर्याउन सूचीकृत उत्पादकबाट मल खरिद गर्ने व्यवस्था गरिएको उनले बताए ।

त्यस कार्यक्रममा सहभागी हुन इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले मलको प्रकार र आवश्यक परिमाण खुलाएर गाउँपालिकामा निवेदन पेस गर्नुपर्नेछ ।

कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै माटोको उर्वराशक्ति संरक्षण, वातावरणमैत्री कृषि प्रणालीको विकास तथा प्राङ्गारिक खेतीको विस्तार गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन् ।

उनले कृषि क्षेत्रमा दीर्घकालीन सुधार ल्याउन किसानलाई प्राङ्गारिक तथा जैविक खेतीप्रति आकर्षित गर्न आवश्यक रहेको बताइन् । “कृषिलाई उत्पादन र आयआर्जनसँग जोड्न खेती गर्ने तरिकामा पनि सुधार आवश्यक छ,” उपाध्यक्ष राईले भनिन्, “प्राङ्गारिक मलको प्रयोग बढाएर कृषि उत्पादनलाई गुणस्तरीयसँगै वातावरणमैत्री खेती प्रणालीको विकास गर्ने हाम्रो लक्ष्य हो ।”

गाउँपालिकाले कृषि क्षेत्रको विकाससँगै किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । प्राङ्गारिक तथा जैविक खेतीको विस्तारले माटोको उर्वराशक्ति संरक्षणमा सहयोग पुग्नाका साथै स्थानीय कृषि उत्पादनको पहिचान र प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित: ६ मंसिर २०८३ १०:२० | Sunday, November 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast