‘संविधान र गणतन्त्रमाथि खेलबाड गर्नेविरूद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको छ’

हिमाल प्रेस ५ मंसिर २०८३ १९:२४ | Saturday, November 21, 2026
‘संविधान र गणतन्त्रमाथि खेलबाड गर्नेविरूद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको छ’

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन्।

नेकपा भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रममा प्रचण्डले हजारौँ घाइते–अपाङ्ग र लाखौँ जनताको तपस्याबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने कोसिस भइरहेको तथा देशलाई अर्को दुर्घटनातिर लैजाने षड्यन्त्रको गन्ध आइरहेको बताए। यसका विरुद्ध नयाँ संकल्प र प्रतिबद्धतासहित फेरि आन्दोलित हुनुपर्ने अवस्था आएको उनले बताए।

उनले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्नेहरूविरुद्ध जिहाद छेड्नुपर्ने बेला आउँदै गरेको र ‘राष्ट्रिय जागरण अभियान’ त्यसैको तयारी भएको उल्लेख गरे।

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले राज्य संरचनालाई भ्रष्टाचारमुक्त बनाउने नयाँ अभियान सुरु गरे पनि अहिले खुलेआम भ्रष्टाचार गर्नेहरूलाई राज्यले पक्षपोषण र संरक्षण गर्ने काम गरेको आरोप लगाए। भ्रष्टाचारविरुद्ध लड्नेहरूलाई अनेक बहाना बनाएर थुनछेक गर्ने विचित्रको प्रचलन देखा परिरहेकोप्रति उनले चिन्ता व्यक्त गरे।

उनले संवैधानिक व्यवस्था अनुसार नै स्थानीय र प्रदेश तहको निर्वाचन गर्नुपर्नै भन्दै संविधान र कानुनमा छेडखानी गरिए नेपालमा फेरि दुर्घटना हुने धारणा राखे।

उनले स्थानीय निर्वाचनमा मूलभूत रूपमा विचार तथा मुद्दा मिल्ने शक्तिहरू-विशेषतः वामपन्थीहरूसँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए। आगामी निर्वाचनमा माथिबाट टिका लगाएर टिकट दिनेभन्दा तल स्थानीय पालिकालाई नै निर्णय गर्न दिनुपर्ने उनको भनाइ छ।

प्रकाशित: ५ मंसिर २०८३ १९:२४ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast