पुटिन र सीसँग ट्रम्पको भेट : फोटो चर्चामा, कूटनीतिक उपलब्धि ओझेलमा

हिमाल प्रेस ४ मंसिर २०८३ ८:२३ | Friday, November 20, 2026
18
SHARES
पुटिन र सीसँग ट्रम्पको भेट : फोटो चर्चामा, कूटनीतिक उपलब्धि ओझेलमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको त्रिपक्षीय भेटवार्तामा स्पष्ट कार्यसूची र ठोस मागबिनै सहभागी भए। तर तीन नेताबीचको बैठकपछि अमेरिकाले पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सकेन।

केही विश्लेषकले विश्वका शक्तिराष्ट्रका नेताहरूको यो भेटलाई ऐतिहासिक ‘याल्टा २.०’ को संज्ञा दिएका थिए। अन्ततः यो शिखर सम्मेलनको सबैभन्दा लामो समयसम्म स्मरण रहने पक्ष बैठकका दृश्य र त्यसको तामझाम मात्रै हुन सक्ने देखिएको छ।

राजनीतिक वृत्तमा ‘अप्टिक्स’ अर्थात् कुनै घटनाले पार्ने दृश्यात्मक प्रभावका रूपमा चर्चा गरिने यी दृश्य नै ट्रम्पका लागि सबैभन्दा महत्त्वपूर्ण उपलब्धि बनेको हुन सक्ने अनुमान गरिएको छ।

यस महिनाको सुरुतिर सम्पन्न मध्यावधि संसदीय निर्वाचनमा आफ्नै रिपब्लिकन पार्टीले नराम्रो पराजय बेहोरेपछि राजनीतिक दबाबमा रहेका ट्रम्पले एसियाको तीनदिने भ्रमणका क्रममा विश्वव्यापी ध्यानाकर्षणको अवसरलाई भरपूर उपयोग गरे। अमेरिका, रुस र चीनका नेताबीच पहिलोपटक भएको त्रिपक्षीय भेटवार्ताको ऐतिहासिक महत्त्वलाई पनि उनले विशेष रूपमा प्रस्तुत गरे।

बुधबार फक्सन्युजसँगको अन्तर्वार्तामा ट्रम्पले मंगलबार आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) रात्रिभोजमा आफूलाई दिइएको प्रमुख स्थान र चीन पुग्दा गरिएको स्वागतलाई भ्रमणको सफलताको प्रमाणका रूपमा प्रस्तुत गरे।

उनले चीनमा पाएको स्वागतको वर्णन गर्दै भनेका थिए,‘त्यहाँको भव्यता, सुन्दरता, तामझाम र हजारौँ मानिसको उपस्थिति नै भ्रमण सफल भएको प्रमाण हो।’

बीबीसीमा पत्रकार एन्थोनी जर्चरले सफलताको यस्तो मापदण्ड सामान्य दृष्टिमा निकै न्यून देखिन सक्ने लेखेका छन्। तर अमेरिकी राष्ट्रपतिका लागि यति नै पर्याप्त हुन सक्ने देखिन्छ।

त्रिपक्षीय बैठकपछि अमेरिकाले अहिलेसम्म उल्लेखनीय रूपमा कम प्रतिक्रिया दिएको छ। चीनले बैठकमा भएका छलफलको विवरणसहित संयुक्त वक्तव्य तत्काल सार्वजनिक गर्‍यो।

रुसी राष्ट्रपति पुटिनले पनि बैठकपछि करिब एक घण्टा लामो पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा राखे। तर ट्रम्पले भने सार्वजनिक रूपमा निकै सीमित प्रतिक्रिया दिएका छन्। उनले शुक्रबार ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्ने बताएका छन्।

यसअघि यसै वर्षको सुरुतिर चीन भ्रमण गर्दा र गत अक्टोबरमा दक्षिण कोरियामा आयोजित एपेक शिखर सम्मेलनका क्रममा सी चिनफिङसँग भेटेपछि ट्रम्पले वासिङ्टन फर्कने क्रममा विमानमै पत्रकारहरूसँग कुराकानी गरेका थिए।

यसपटक भने ह्वाइट हाउसले तीन नेताको भेटपछि बिहीबार सार्वजनिक गरिएको संयुक्त वक्तव्यलाई नै आफ्नो उपलब्धिको व्याख्या गर्न दिएको छ। तर उक्त वक्तव्यमा ‘रणनीतिक स्थायित्व र अन्तर्राष्ट्रिय सुरक्षाको सुनिश्चितता’ गर्ने प्रयासप्रति समर्थन जनाउनेबाहेक ठोस विषयवस्तु खासै छैन।

तीन शक्तिशाली राष्ट्रका नेता एउटै कोठामा बसेर विश्वका महत्त्वपूर्ण विषयमा सौहार्दपूर्ण छलफल गरिरहेको दृश्यले भविष्यमा कुनै विनाशकारी द्वन्द्व नहुने आशा जगाउन सक्छ। तर थप ‘संवाद’ गर्ने प्रतिबद्धता र आणविक युद्ध ‘कहिल्यै लडिनु हुँदैन’ भन्ने स्वीकारोक्तिभन्दा बाहिर बैठकले खासै ठोस उपलब्धि दिन सकेको देखिँदैन।

अमेरिका-चीन सम्बन्धसम्बन्धी बुश फाउन्डेसनका प्रमुख डेभिड फायरस्टिनले बीबीसीसँग भने,‘सामान्यतया विश्वका प्रमुख शक्तिका नेताहरू विभिन्न ढाँचामा एकै ठाउँमा आउनु राम्रो कुरा हो, परिणाम अत्यन्तै सीमित देखिए पनि।’

संयुक्त वक्तव्यमा प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति बढाउने विषय पनि उल्लेख छ। अन्तर्राष्ट्रिय बजारमा जीवाश्म इन्धनको प्रमुख आपूर्तिकर्ता रुस भएकाले यो विषय पुटिनलाई लक्षित गरेर राखिएको हुन सक्ने देखिन्छ।

त्यस्तै, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को आलोचना पनि वक्तव्यमा समेटिएको छ। पछिल्लो समय अमेरिकी असन्तुष्टिको निशानामा पर्दै आएको उक्त अदालतप्रति तीनै नेताको साझा धारणा देखिएको छ।

विश्वका तीन प्रमुख शक्तिका नेताहरूबीच कम्तीमा एउटा विषयमा सहमति देखिएको छ। चीन भ्रमणका क्रममा ट्रम्पले पुटिनलाई आफ्नो ‘मित्र’ भनेका थिए। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हात मिलाउनुका साथै अँगालो हालेपछि उनले सीसँग आफ्नो ‘उत्कृष्ट व्यक्तिगत सम्बन्ध’ रहेको भन्दै प्रशंसा गरेका थिए।

तर ट्रम्प वासिङ्टन फर्किएपछि उनको एसिया भ्रमणलाई लिएर अमेरिकामा विभिन्न प्रतिक्रिया आउने सम्भावना छ। कतिपयले संयमित चिन्ता व्यक्त गरेका छन् भने कतिपयले खुलेरै आलोचना गरेका छन्।

रिपब्लिकन पार्टीका युटाका सिनेटर जोन कर्टिसले बिहीबार बीबीसीलाई दिएको वक्तव्यमा अमेरिकाले आफ्ना भूराजनीतिक प्रतिस्पर्धीहरूसँगको सम्बन्धलाई कसरी व्याख्या गरिरहेको छ भन्ने विषयमा आफू चिन्तित रहेको बताए। उनले भने,‘भ्लादिमिर पुटिन र सी चिनफिङ हाम्रा मित्र होइनन्।’

उनका अनुसार कूटनीति महत्त्वपूर्ण भए पनि आफ्ना विरोधी को हुन् भन्ने विषयमा स्पष्टता कायम राख्नु उत्तिकै आवश्यक छ।

त्यस्तै, यसै महिनाको सुरुतिर ट्रम्पको समर्थनमा पुनः निर्वाचित भएका इलिनोइसका रिपब्लिकन सांसद ड्यारिन लाहुडले पनि अमेरिकाले विदेशमा आफ्ना मित्रराष्ट्र र विरोधी दुवैसँग छलफल गर्नुपर्ने बताए। तर उनले पुटिनलाई ‘तानाशाह’ र ‘अन्तर्राष्ट्रिय अपराधी’ को संज्ञा दिए।

बीबीसी न्युजसँग कुरा गर्दै लाहुडले भने,‘विश्वमञ्चमा पुटिनलाई अमेरिकाकै बराबरीको हैसियत दिएजस्तो देखिने तस्बिरहरूबारे मलाई केही चिन्ता छ।’

उनले युक्रेनमा पुटिनले गरेको व्यवहार बिर्सन नहुने बताए। ‘उनले एउटा सार्वभौम, स्वतन्त्र र लोकतान्त्रिक रूपमा निर्वाचित देशमाथि आक्रमण गरे। र, त्यहाँ अझै पनि आक्रामक गतिविधि जारी राखेका छन्,’ लाहुडले भने।

डेमोक्र्याटिक पार्टीका नेताहरूले भने अझ कडा प्रतिक्रिया दिएका छन्। विदेश सम्बन्ध समितिका नौ जना सिनेटरले ह्वाइट हाउसलाई लेखेको पत्रमा भनेका छन्,‘अमेरिकी सुरक्षालाई फोटो खिचाउने अवसर वा व्यक्तिगत प्रतिष्ठा बढाउने उद्देश्यका लागि साट्न सकिँदैन।’

घरेलु राजनीतिमा धक्का बेहोरेपछि अन्तर्राष्ट्रिय कूटनीतिक उपलब्धि हासिल गरेर त्यसको प्रभाव कम गर्ने प्रयास गर्ने अमेरिकी राष्ट्रपति ट्रम्प पहिलो व्यक्ति भने होइनन्।यसअघि डेमोक्र्याटिक राष्ट्रपति बिल क्लिन्टन र बाराक ओबामाले पनि आफ्ना पार्टीहरूले मध्यावधि निर्वाचनमा पराजय बेहोरेलगत्तै विदेश भ्रमण गरेका थिए।

तर ती दुवै राष्ट्रपतिले त्यस्ता भ्रमणबाट प्राप्त गरेको राजनीतिक लाभ लामो समयसम्म टिक्न सकेन। ट्रम्पले एसिया शिखर सम्मेलनबाट आफूले चाहेका तस्बिर र दृश्यहरू त प्राप्त गरेका छन्। त्यससँगै जोडिनुपर्ने ठोस कूटनीतिक उपलब्धि हासिल हुन नसकेकाले उनको यो भ्रमण पनि केही समयपछि बिर्सिइने सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast