काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनफिङले ऐतिहासिक बैठकपछि संयुक्त ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्।
एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चीनको शेन्जेनस्थित काइलिन भिल्लामा तीनै नेताबीच भेटवार्ता भएको थियो। तीनै नेताको यो पहिलो त्रिपक्षीय बैठक थियो। बैठक करिब एक घण्टा २० मिनेट चलेको थियो।
घोषणापत्रमा आणविक युद्ध न त जित्न सकिन्छ न त कहिल्यै लडिनु नै पर्छ भनिएको छ। तीनै देशले पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति बढाउने योजनाको पनि उल्लेख गरेका छन्।
विज्ञप्तिमा सरकारी अधिकारीहरुले पाउने उन्मुक्तिको मुद्दा पनि उठाइएको छ। यसमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) र यस्तै अन्य संस्थाहरुले आफ्नो क्षेत्राधिकारको दुरुपयोग गर्न नहुने बताइएको छ।
बैठकअघि ट्रम्पले पुटिनसँग पनि भेटवार्ता गरेका थिए। अगस्त २०२५ पछि दुवै नेताको यो पहिलो भेट थियो। ट्रम्पे पुटिनलाई आफ्नो साथी भनेका थिए।
त्यस्तै जिनफिङको छुट्टै कुराकानीमा उनले दुई देशबीचको सम्बधलाई ‘निकै विशेष’ भनेका थिए। तीनै नेताबीचको कुराकानीको वातावरण मैत्रीपूर्ण रहे पनि बैठकलाई लिएर उनीहरुका उद्देश्य फरक-फरक थिए।
बैठकको सुरुवातमा जिनफिङले विश्वका ठूला शक्तिहरुबीच सकारात्मक संवाद कुनै विकल्प नभई आवश्यकता भएको थिए।
यसपछि पुटिनले रुस र चीनको युक्रेन युद्ध अन्त्य गर्ने साझा चासो रहेको बताए। उनले खाद्य र ऊर्जा सुरक्षाका विषयमा पनि कुराकानी भएको जानकारी दिए।
चीन यसअघि पनि यस युद्धमा आफूलाई तटस्थ बताउँदै आएको छ। उसले रुसी आक्रमणको निन्दा गर्नबाट पन्छिँदै आएको र लगातार वार्तामार्फत राजनीतिक समाधान निकाल्न अपिल गर्दै आएको छ।
ट्रम्पले विश्वका तीन ठूला देशका राष्ट्रपतिहरुको संवादलाई निरन्तरता दिनु विशेष जिम्मेवारी भएको बताए। उनले विगतमा धेरै नेताहरु मतभेद भएका देशहरुसँग कुरा गर्न हिचकिचाउने गरेको तर आफ्नो दृष्टिकोण त्यसभन्दा फरक रहेको उल्लेख गरे।
ट्रम्पले तीनै देशको आवणविक शक्तिको उल्लेख गर्दै विश्मा आणविक हतियारको संख्या घटाउने विषयमा छलफल गर्न आफूहरु विशेष स्थितिमा रहेको बताए।
उनले अन्य देशहरुमा आणविक हतियारको प्रसार रोक्न सहकार्य आवश्यक रहेको बताए। यसै क्रममा उनले इरानलाई पनि आणविक हतियार राख्न नदिने बताएका थिए।



